सुनको मूल्यमा नयाँ कीर्तिमान

कतार विश्वकप : आज तीन खेल हुँदै

काठमाडौँ । कतार फिफा विश्वकपको दोस्रो दिन सोमबार तीन खेलहरू हुँदै छन् । 

पहिलो खेलमा इङ्गल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदै छ । यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साँझ पौने सात बजे सुरु हुनेछ । युरोपेली राष्ट्र इङ्गल्यान्ड फिफा बरीयतामा पाँचौँ स्थानमा छ । एसियाली मुलुक इरान २०औ स्थानमा छ । 

हालसम्म इङ्गल्यान्ड एसियाली मुलुकविरुद्ध एक पटक प्रतिस्पर्धा गरेको छ । आजको खेलसँगै इङ्गल्यान्डले दोस्रो एसियाली मुलुकसँग भेट्नेछ ।

आजको खेलमा जित निकाल्दै समूह बी को खेलमा इङ्गल्यान्ड महत्त्वपूर्ण तीन अङ्क जोड्ने योजनामा छ । इरान भने खेल बराबरी गर्ने रणनीतिमा छ ।

सेनेगल र नेदरल्यान्ड भिड्दै
दिनको दोस्रो खेलमा सेनेगल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने १० बजे अल थुमामा मैदानमा हुनेछ । 

सेनेगल फिफा वरियतामा १८औँ स्थानमा रहँदा नेदरल्यान्ड्स आठौँ स्थानमा छ । सेनेगल आफ्ना प्रभावशाली अट्याकर साडिओ मानेबिना मैदान उत्रने पक्का छ । माने घाइते छन् । 

यता, नेदरल्यान्ड्स भने आफ्नो अपराजित यात्रा १५ खेलबाट बढाउन चाहन्छ । लुइस भान गालको नेतृत्वमा रहेको नेदरल्यान्ड्स मानेको अभावमा फाइदा उठाउने योजनामा छ । 

स्ट्राइकर मेम्पिस डिपाएले नेदरल्यानड्सको यात्रामा फिनिसिङ पक्षमा उत्कृष्ट साथ दिनेछन् । समूह ए को पहिलो खेलमा इक्वेडरले आयोजक कतारलाई २–० अन्तरले पराजित गर्दै बलियो सुरुवात गरिसकेको छ ।

अमेरिका र वेल्स प्रतिस्पर्धामा 
दिनको अन्तिम खेलमा अमेरिका र युरोपेली राष्ट्र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । 

खेल नेपाली समय अनुसार राति पौने १ बजे अहमेद विन अलि मैदानमा हुने तालिका छ । वेल्स फिफा वरियतामा १९औँ स्थानमा रहँदा अमेरिका १६औँ स्थानमा छ । समूह बी को खेलमा दुवै टोली विजयी हुँदै सुखद सुरुवात गर्न चाहन्छन् । 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ४६ बजे