आन्तरिक हवाई उडानमा अत्यधिक चाप

रुपन्देहीमा खस्यो ५२ प्रतिशत मत, आजैबाट मतगणना गर्ने तयारी

भैरहवा । रुपन्देहीमा ५२ प्रतिशत मत खसेको छ । 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान बिहान ७ बजेबाट सुरु भएकोमा दिउँसो ३ बजेसम्म ५२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

बिहानदेखि नै मतदाता आउने क्रम जारी रहे पनि स्थानीय तहको निर्वाचन जस्तो उत्साह मतदाताहरूमा छैन । 

साँझ ५ बजेसम्म हुने निर्वाचनमा रुपन्देहीमा ६ लाख ३८ हजार ९५२ जनालाई मताधिकार भए पनि हालसम्म ५२ प्रतिशत मत खसेको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार जिल्लामा राष्ट्रिय दल सहित ३६  राजनीतिक दल मध्ये २८ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा सहभागी छन् । 

५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा १५ पदका लागि २०३ जनाले उम्मेदवारी दिएका छन् । ८ अन्य, ३ लाख २७ हजार ४ सय ३३ पुरुष र ३ लाख ११ हजार ५ सय ११  महिलाले मत हाल्न पाउनेछन् ।

जिल्लाका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले जानकारी दिनुभयो । साँझ ५ बजेसम्म मतदान स्थलमा प्रवेश गरेकाहरूले मतदान गर्न पाउने छन् । 

रुपन्देहीमा २०८ मतदान स्थलमा ७०२ मतदान केन्द्र छन् । पाँच वटा अस्थायी मतदाताका लागि स्थल थपिएको छ । मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकताअनुसार व्यवस्थापन गरिसकेको र राति १० बजे देखि मतगणनाको तयारी भइरहेको जनाएको छ ।  

सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी मतदान स्थलमा तैनाथ छन् । मतदानस्थलमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । १२ वटा अनुगमन टोलीले हरेक निर्वाचन क्षेत्रको अनुगमन गर्नेछ  ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ३ : २९ बजे