आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मतदानस्थलमा मत माग्ने कर्मचारी निलम्बन 

पथरी  । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ३, वीरेन्द्रनगरस्थित श्री जनता मावि मतदानस्थलको ‘क’ मतदान केन्द्रमा कार्यरत एक जना कर्मचारी विनिता दाहालले गठबन्धनका उम्मेदवारको पक्षमा भोट मागेपछि स्थिति तनावग्रस्त बनेको छ ।

बिहान बिहानै भोट हाल्न लाइनमा उभिएका अशक्त तमाम मतदाताको उपस्थिति र समयमै मतदान आरम्भ गराउन गरिएको मागप्रति बेवास्ता गर्दै बल्लबल्ल साढे ७ पछि सुरु गरिएको मतदान केन्द्र मत खस्न आरम्भ भएसँगै यो स्थिति बनेको हो । 

मावि मतदानस्थलको ‘क’ मतदान केन्द्रमा मत हाल्न पुग्नुभएको कमला दाहाललाई ती कर्मचारी दाहालले भोट हाल्न आग्रह गरेपछि उसको नियत एकाएक बाहिरिएको हो । शिक्षण पेशा सम्बद्ध निर्वाचन कर्मचारी दाहालले मतदाता दाहालभन्दा पहिल्यै लाइनमा उभिएका पाका बुबा–आमालाई समेत ललाइफकाइ भोट मागेको प्रत्यक्षदर्शी बचाउँछन् ।

मतदाता दाहालले आफूहरूसँग कर्मचारी भोट मागेको रहस्य सार्वजनिक गरेपछि स्थिति एकाएक तनावग्रस्त बनेको हो । मतदाता दाहाल जनता मावि मतदानस्थल भएका नेकपा ९एमाले० केन्द्रीय कमिटी सदस्य युवराज बास्कोटाकी श्रीमती हुन् ।

केही बेरको चर्को नाराबाजी र स्थानीय राजनीतिक दलका उपलब्ध दर्जनौँ प्रतिनिधिको अनुरोधपछि डीएसपी बेदप्रकाश गौतम, निर्वाचन अधिकृत, संघीय सांसदका उम्मेदवार भानुभक्त ढकालका निर्वाचन प्रतिनिधि अधिवक्ता बालकृष्ण आचार्य, वडाध्यक्ष विजय लिम्बू, स्थानीय निर्वाचन अधिकृतको समझदारीमा मुचुल्का उठाउँदै दाहाललाई प्रारम्भिक कारबाही स्वरूप संलग्न यो कार्यक्षेत्र र निर्वाचन प्रयोजनका लागि तोकिएको जिम्मेवारीबाट सम्पूर्ण रूपले निलम्बन गरिएको प्रहरी प्रमुख गौतमले जनाउनुभयो । 

यसअघि बोरामा चामल, खाद्यवस्तु, मांसाहारीका लागि पोका पोका मासु, पेय पदार्थ आदि बाँड्दै मतदातालाई प्रभावित र आकर्षित तुल्याउन अहोरात्र मैदानमा देखिएको गठबन्धन उम्मेदवारको यो पछिल्लो गतिविधिले माहौललाई थप शङ्कास्पद बनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १ : ४१ बजे