‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नमुना माझी बस्तीका घर प्रयोगविहीन

चौतारा । विसं २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमुना माझी गाउँका ४६ घर प्रयोगविहीन बनेका छन् ।

भूकम्प लगत्तै रोटरी इन्टरनेशनल समेतको सहयोगमा थाई नेपाली सङ्घले रु एक करोड सात लाख खर्चेर नमुना बस्ती बनाएको थियो । 

फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझीले बताउनुभयो । बाक्लो नमुना बस्तीमा रहेको घरमा माझीले ताल्चा झुन्ड्याउनुभएको छ । माझीले बस्तीको पछाडि छकोठे आरसिसी घर ठड्याउनुभएको छ । तेह्र सदस्यीय परिवार नमुना बस्तीको एककोठे घरमा नअटेपछि अर्को घर बनाउनुपरेको माझीले बताउनुभयो । 

तत्काललाई नमुना बस्तीले सुविधा दिए पनि अहिले प्रयोगविहीन बनेको सीता माझीले बताउनुभयो । उहाँका अनुसार केही माझी परिवारले नमुना बस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन् । बस्तीका धेरैजसो घर प्रयोगविहीन अवस्थामा छन् ।

तीन वटा सामूहिक धारा र एक सामुदायिक भवनसहितको नमुना बस्तीका घरमा आधा भागसम्म ढुङ्गाको गारो र बाँकीमा प्रिफ्याब प्रयोग गरिएको छ । 

निर्माणमा प्रयोग गरिएका सामग्रीको आधारमा बस्तीका घर अल्पकालीन संरचना भएको नमुना बस्ती उपभोक्ता समितिका अध्यक्ष नारायण माझीले बताउनुभयो । 

उहाँका अनुसार माझी बस्तीका ४६ परिवारले नै अर्को घर बनाइसकेका छन् । वैकल्पिक घर बनाउँदा माझी परिवारलाई रु दुईदेखि १० लाखसम्म ऋण लागेको उहाँले बताउनुभयो ।

दीर्घकालीन सोच नराखी बनाइएको नमुना बस्तीका एककोठे घरमा कहाँ सुत्ने, कहाँ अन्नपात राख्ने, लुगाफाटा कता राख्ने, खाना कहाँ बनाउने र पाहुना आउँदा कसरी अटाउनेजस्ता समस्या आएपछि वैकल्पिक संरचना बनाउनुपरेको माझी समुदायको भनाइ छ । रासस

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १० : १६ बजे