आन्तरिक हवाई उडानमा अत्यधिक चाप

निर्वाचनमा खटिएका दुई कर्मचारीको मृत्यु

काठमाडौँ । मङ्सिर ४गते अर्थात् भोलि हुने निर्वाचनमा खटिएका दुई कर्मचारीको मृत्यु भएको छ । 

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका नम्बर ४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु रायको मृत्यु भएको छ । उनी शनिवार बिहान सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी सुनीलजंग शाहले जानकारी दिनुभयो । 

सर्लाही हरिपुर्वा नगरपालिका ५ घर भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत हुनुहुन्थ्यो । उहाँले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको खुलेको छ ।

धनकुटामा पनि मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको मृत्यु भएको छ ।

साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिनुभएकी पवित्रा याख्खा लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए । उहाँको  शुक्रवार अपराह्न मृत्यु भएको हो ।

मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्किँदै गर्दा लिम्बू अचानक बेहोस भएर लड्नुभएको थियो। 

उपचारका लागि धरान लैजाने क्रममा गर्दा बाटैमा उहाँको मृत्यु भएको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : ५० बजे