आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाकामा सुरक्षा कडा

भैरहवा । आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ । 

सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ । नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय पर्यटक र नेपालमा मतदानका लागि आउँदै गरेका नेपाली पनि रोकिएका छन् ।

मङ्सिर १ गते राति १२ बजेदेखि नेपाल–भारत सीमा बन्द हुने भनिए पनि व्यावहारिक रूपमा त्यो सम्भव नहुने देखेपछि कडा जाँच गरी सुरक्षाकर्मीले दुवैतर्फका सर्वसाधारणलाई आवागमन गर्न दिएका छन् ।

सीमामै भेटिनुभएका रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले बिरामी, बिरामी बोकेको गाडी, अत्यावश्यक सामान बोकेका मालवाहक गाडी, नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपाली मतदातालाई केही बेर ‘होल्ड’ गरी आवागमन गर्न दिइएको बताउनुभयो ।

सीमामा नेपालबाट भारत फर्किने मालवाहक ट्रकको लामो लाइन लागेको छ । ती ट्रकलाई भारतको समन्वयमा भारत पुर्‍याउने तयारी भइरहेको छ । शुक्रवार र शनिवार केही छुट रहे पनि मतदानको दिन भने पूर्ण रूपमा आवागमन ठप्प बनाउने श्रेष्ठले बताउनुभयो ।

“भारतीय गाडी नेपालमा राख्दा सुरक्षा चुनौती त हुन्छ नै उनीहरूलाई पनि अप्ठ्यारो हुन्छ”, श्रेष्ठले भन्नुभयो, “भारतीय सुरक्षा निकायको समन्वयमा यिनीहरूलाई पठाउने व्यवस्था हुन्छ ।”

नेपाल र भारतका सुरक्षाकर्मीसँगै भारतीय उच्च अधिकारीले पनि सीमामा निगरानी गरिरहेका छन् । भारत महाराजगञ्जका सहायक डिस्ट्रिक्ट मजिष्ट्रेट दिनेशकुमार मिश्रले पनि नेपालमा हुने निर्वाचनका क्रममा भारतबाट पूर्ण रूपमा सहयोग र समन्वय रहने बताउनुभयो ।

रुपन्देहीमा करिब ६० किलोमिटर नेपाल र भारतबीच खुला सीमा रहेको छ । यी सीमा नाकामा अहिले सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी पनि खटेको छ । मङ्सिर ४ गते हुने आमनिर्वाचनलाई लिएर रुपन्देहीका विभिन्न मतदान केन्द्रको निर्माण तीव्र बनाइएको छ । 

रुपन्देहीका सात सय दुई मतदान केन्द्रमा आठ कर्मचारीका दरले बिहीबारदेखि नै कर्मचारी मतदान केन्द्र पुगिसकेको जिल्ला निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

फिल्डमा सुरक्षाकर्मीसहित पुगेको मतदान अधिकृतको टोलीले निर्वाचनलाई सफल बनाउन विभिन्न मुचुल्का बनाई टाँस गरेको छ । 

मतदान अधिकृतको टोलीले स्थानीय राजनीतिक दलहरूसँग शुक्रवार सर्वदलीय छलफलसमेत गरेको बेलहिया माविमा खटेका मतदान अधिकृत जगतबहादुर बस्नेतले बताउनुभयो । रासस

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : १२ बजे