आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मतगणना स्थलमा तार जाली र सिसिटिभी क्यामेरा

भरतपुर । चितवनमा मतगणना स्थललाई सुरक्षित बनाउन तार जाली र सिसिटिभी क्यामेरा जडान गरिएको छ । 

जिल्लाको तीन वटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तार जाली र सिसिटिभी क्यामेरा जडान गरिएको हो । 

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तार जाली र सिसिटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण यहाँ मतगणना स्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ ।

चितवन क्षेत्र नं १ को खैहरनी माविमा मतगणना गर्ने तयारी गरिएको छ । त्यहाँ चार ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ । 

यस्तै क्षेत्र नं २ को मतगणना चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा गरिने अधिकृत थापाले जानकारी दिनुभयो । सो ठाउँमा शुक्रवार सरसफाइ र तार जाली लगाउने काम भएको उहाँले बताउनुभयो । क्षेत्र नं २ को चार ठाउँमा मतगणना गर्ने गरी तयारी गरिएको छ । 

यस्तै चितवन क्षेत्र नं ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणनाको तयारी गरिएको छ । यहाँ दुई ठाउँमा मतगणना गर्ने गरी संरचना निर्माण गरिएको छ । अधिकृत थापाले विगतमा मतपत्र च्यातिएर दाग लागेको भन्दै त्यसलाई मेटाउनका लागि सबै राजनीतिक पार्टीहरूलाई आफूले अनुरोध गरेको बताउनुभयो । 

उहाँले जिल्लाभर मतदान र मतगणना स्थल निर्माणको काम लगभग सकिएको जानकारी दिनुभयो । उहाँले सबै ठाउँमा आवश्यकताअनुसार कर्मचारी खटाइएको बताउनुभयो ।रासस 

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : ०३ बजे