आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मुख्य निर्वाचन अधिकृतहरूलाई आयोगले दियो ६ बुँदे निर्देशन, यस्ता छन् निर्देशन 

काठमाडौँ  । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन एक दिन मात्र बाँकी रहँदा आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतगणना र मत परिणाम सम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन ६ बुँदे निर्देशन जारी गरेको हो । 

यस्ता छन् निर्देशन 
१. प्रत्येक मतगणना स्थलमा प्रेस कर्नरको स्थापना गरी पत्रकारहरूका लागि सूचना प्राप्तिका लागि सहज पहुँच उपलब्ध गराउने र सो कार्यका लागि सम्बन्धित निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्ने ।

२. मतगणना कार्यको सुरुआतमा एक पटक वा पालो मिलाएर भिडियो तथा फोटो पत्रकारलाई गणना स्थलको दृश्य र तस्बिर लिन सक्ने गरी आवश्यक प्रबन्ध गर्ने ।

३. मतगणना कार्यको प्रत्येक घण्टामा प्राप्त मत परिणामलाई मतगणनामा रहेका कर्मचारी, दल, उम्मेदवार र प्रतिनिधिले यकिन गरी सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट गर्ने ।

४. मतगणना स्थलमा राजनीतिक दल र उम्मेदवारको सहमतिका आधारमा माइकिङ वा डिस्प्ले वा अन्य माध्यमबाट मत परिणामको सूचना उपलब्ध गराउने ।

५. निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको आधिकारिक मत परिणामलाई सञ्चारमाध्यमले आफ्नो वेब पेज वा पोर्टलमा आबद्ध गर्न चाहेमा सोका लागि आयोगको परिणाम पोर्टलको लिङ्क (https://result.election.gov.np) लाई ‘इम्बिड’ गरी प्रकाशन गर्न सक्ने ।

६. मतगणनाबारे आधिकारिकता पुष्टि नगरी गलत सूचना प्रवाह नगर्न/नगराउन सबै सञ्चारमाध्यमहरूलाई आग्रह गर्ने ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ७ : २२ बजे