आन्तरिक हवाई उडानमा अत्यधिक चाप

निर्वाचनका लागि सुरक्षाको वातावरण अनुकल छ : नेपाली सेना

काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षालाई लिएर शुक्रबार निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले छलफल गरेको छ।

आयोगको कान्तिपथस्थित कार्यालयमा भएको भेटका अवसरमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको कामबारे जानकारी गराउनुभयो।

हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको उनले बताएका थिए। निर्वाचन सुरक्षित वातावरणमा गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको शर्माले जानकारी गराउनुभयो।

त्यस अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि मतपत्र छपाइ, ढुवानी, निर्वाचन सामग्री जाँच तथा प्याकेजिङ कार्य तथा दुर्गम हिमाली जिल्लामा मतपत्र र मतदान सामग्री तथा कर्मचारीसमेत पुर्‍याउन नेपाली सेनाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताउनुभयो।

भेटमा निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र सगुन शम्सेर जबराको उपस्थिति थियो।

उहाँहरूले निर्वाचनको तयारी, निर्वाचन आचारसंहिताको पालना र निर्वाचन सुरक्षाका क्रममा नेपाली सेनाबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताएका थिए।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ६ : १५ बजे