आन्तरिक हवाई उडानमा अत्यधिक चाप

जुम्लामा पुग्न थाले मतदान केन्द्रमा निर्वाचन सामग्री

जुम्ला । आसन्न निर्वाचन आउन तीन दिनमात्र बाँकी हुँदा जुम्लाका मतदान केन्द्र र मतदानस्थलमा निर्वाचनका आवश्यक पर्ने मतपत्रसहितका निर्वाचनका सामग्री पुग्न थालेका छन् । 

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री मतदान केन्द्रमा पठाउने काम भइरहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो । 

निर्वाचनमा चाहिने सामग्री ढुवानीको काम सुरु भएको छ, कार्यालय प्रमुख शर्माले भन्नुभयो, “निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी दुई सय १६ जनालाई तालिम दिइसकेपछि निर्वाचन सामग्री हस्तान्तरण गरी निर्वाचनमा खटिने कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रमा खटाइएको छ । 

जिल्लाका एक सय छ मतदान केन्द्रमा खटिने एक सय छ मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृतसहित आठ सय ४८ कर्मचारी परिचालन भएको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

मतदानको दिन र मतदान हुनुभन्दा पहिला खटाइसकेपछिको अवधिमा गर्नुपर्ने कामका बारेमा तालिममा सिकाइएको छ । टाढाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतपत्र र निर्वाचन सामग्रीसहित हिजो खटाएको र बाँकीलाई आज खटाइनेछ । आज साँझसम्म मतदानस्थलमा निर्वाचन सामग्री पुग्ने मुख्य निर्वाचन अधिकृतिको कार्यालयले जनाएको छ । 

जिल्लाको सबैभन्दा टाढा मानिने कनकासुन्दरी, सिंजा, हिमा र तिला गाउँपालिकाका मतदान केन्द्रमा निर्वाचनका आवश्यक सामग्री पुगिसकेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लामा ८३ वटा मतदानस्थल र एक सय छवटा मतदान केन्द्र कायम गरिएको छ । दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।  प्रतिनिधिसभा सदस्यका लागि एक मात्र क्षेत्र रहेको जुम्लामा ६८ हजार छ सय ३८ मतदाता रहेका छन् । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र–१ प्रदेशसभा १ मा ३६ हजार सात सय ८३ र प्रदेशसभा २ मा ३१ हजार छ सय ३८ मतदता छन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  २ : २१ बजे