मलेसियामा नेपाली दूतावासले सुरु गर्‍यो ‘श्रमिकका लागि घुम्ती सेवा’

मलेसिया । मलेसियास्थित नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । 

नेपाली श्रमिक कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताउनुभयो । 

राजदूत पौडेलले बुधवार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा अस्थायी घुम्ती सेवाको उद्घाटन गर्नुभयो । गैर आवासीय नेपाली सङ्घलगायत नेपाली सङ्घ संस्थासँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको हो ।

एक हजारभन्दा धेरै नेपाली उपस्थित भएको कार्यक्रममा २ सय ८० जना श्रमिकले राहदानी सम्बन्धी सेवा लिएका थिए । घुम्ती सेवामा राहदानी सम्बन्धी सेवाका साथै दूतावासबाट प्रवाह गरिने विभिन्न सेवा प्रदान गरिएको नेपाली दूतावासले जनाएको छ ।

घुम्ती सेवा उद्घाटनका क्रममा राजदूत पौडेलले नेपाली श्रमिकहरू कार्यरत कम्पनीहरूको स्थलगत निरीक्षण, सेवा सुविधाबारे श्रमिकहरूसँग अन्तर्क्रिया तथा सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल समेत गर्नुभएको थियो ।

विशेषतः सुरक्षा गार्ड र सरसफाइ सम्बन्धी श्रमिकको समस्या समाधानका लागि दुई देशबीच भएको श्रम सम्झौता २०१८ र मलेसियाको श्रम कानुन अनुसार व्यवस्थित गर्न लागिएको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  १० : ०४ बजे