समृद्ध नेपाल निर्माण गर्ने दिशामा सहयोग गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा एमालेलाई बहुमतका साथ विजयी बनाई समृद्ध नेपाल निर्माण गर्ने दिशामा सहयोग गर्न आम मतदातालाई आग्रह गर्नुभएको छ । 

अध्यक्ष ओलीले सुनसरीमा बुधवार आयोजित चुनावी आमसभामा देश बनाउन राष्ट्रिय शक्तिको आवश्यकता रहेको र त्यो एमालेले मात्र पूरा गर्ने बताउनुभयो । 

उहाँले स्वार्थीहरूको झुण्ड जोडेर राष्ट्रिय शक्ति बन्दैन भन्दै राष्ट्रिय हित, देशको विकास, सुशासन र समृद्ध नेपाल बनाउने यात्रामा मद्दत गर्न एमालेलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

एमालेले सामाजिक जीवनका हरेक क्षेत्र, विभिन्न पेसा, व्यवसाय, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, बन्दीहरू सबैको पक्ष र हितमा काम गरेको विगत स्मरण गर्नुहुँदै उहाँले २०५१ सालमा आफू गृहमन्त्री रहेको समयमा प्रहरी सेवामा श्रेणीमा लैजाने व्यवस्था गरेको, नेपाली सेनामा प्रतिरक्षा विश्वविद्यालय स्थापना र सेनालाई बङ्करबाट ब्यारेकमा ल्याउने काम गरेको बताउनुभयो । अध्यक्ष ओलीले मङ्सिर ४ हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत प्रत्यक्ष तथा समानुपातिकतर्फ एमालेको पक्षमा मतदान गरी समृद्ध नेपालको गन्तव्यमा पुग्ने यात्रामा सहयोग गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले सुनसरी निर्वाचन क्षेत्र नं.३ मा एमालेले कर्मठ महिला भगवती चौधरीलाई उम्मेदवार बनाएको बताउँदै उहाँलाई अत्यधिक बहुमतका साथ विजयी बनाउन आग्रह गर्नुभयो । 

विगत निर्वाचनहरूमा जितेर पनि धाँधली गरी हराइएकी चौधरी गरिब जनताका लागि रोजगारी दिने विकास प्रेमी, जनप्रेमी नेतृ भएको भन्नुहुँदै अध्यक्ष ओलीले मतपेटिका फेरेर धाँधली गरी विजयी भएका सुनसरी क्षेत्र नं. ३ का जनप्रतिनिधि भ्रष्टाचार मुद्दाका कारण अहिले लुक्दै र भाग्दै हिँड्ने गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले सुनसरीका जनताले विजय गच्छदारलाई फेरि निर्वाचित गरेर पठाए उनी संसद् पस्न पनि नपाउने र शपथ पनि नहुने अवस्थाका बारेमा मतदातालाई जानकारी गराउनुभयो ।

अध्यक्ष ओलीले विगतमा विपक्षीले मतपेटिका फेरेर धाँधली गरेको घटनाबाट शिक्षा लिई आसन्न निर्वाचनमा कुनै पनि प्रकारका धाँधली हुनबाट रोक्न चनाखो र सतर्क रहन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । प्रहरी प्रशासनलाई पनि निर्वाचन शान्तिपूर्ण र निष्पक्ष सम्पन्न गर्न भूमिका निर्वाह गर्न आग्रह गर्दै उहाँले देशमा शान्ति सुव्यवस्थाको अभिभारा बोकेको प्रहरी प्रशासनले देश, जनता र लोकतन्त्रविरुद्ध गठबन्धन सरकारले दिने आदेश पालना गर्नुहुँदैन भन्नुभयो । 

“प्रहरी प्रशासन गठबन्धनको नोकरचाकर होइन, राष्ट्रको सेवक हो, शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउने काममा भूमिका निर्वाह गर्नु उसको दायित्व हो ।”अध्यक्ष ओलीले भन्नुभयो । 

यति बेला ललिता निवास काण्ड गर्नेहरू निर्वाचनपछि एमालेको सरकार बने आफूहरूले देश छोड्नपर्छ भन्दै आत्तिएका र छटपटाइरहेका छन् भन्दै  उहाँले भन्नुभयो– “गल्ती गरेको छैन भने नडराउनुस् । गल्ती गर्नुभएको छ भने राज्यका निकायहरू छन् तिनले कारबाही गर्ने हो मैलै होइन ।”

आसन्न निर्वाचनमा विभिन्न जिल्लाका केही स्थानमा जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एमालेले चुनावी तालमेल गरेको र सुनसरीमा पनि त्यस्तो तालमेल रहेको चर्चा गर्दै अध्यक्ष ओलीले सुनसरीको क्षेत्र नं.१ मा जसपाका उम्मेदवारलाई आफ्नै पार्टीको उम्मेदवार ठानेर मतदान गर्न पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभयो । 

उहाँले सुनसरीका बाँकी २, ३ र ४ नम्बर क्षेत्रमा जसपाका कार्यकर्ताले त्यसरी नै एमालेका उम्मेदवारहरूलाई मतदान गर्नेछन् भन्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले आसन्न मङ्सिर ४ को निर्वाचनबाट एमालेको सरकार बनेपछि एक महिनाभित्र जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने बताउनुभयो ।  उहाँले एमालेको सरकारले सबै नेपालीलाई नागरिकता दिने प्रष्ट पार्नुभयो ।

गठबन्धनमा रहेका दलहरूले गैर नेपालीलाई पनि छिट्टै नागरिकता दिन चाहेकाले नागरिकतासम्बन्धी विवाद सिर्जना भएको स्पष्ट गर्दै अध्यक्ष ओलीले आम नागरिकलाई भ्रममा नपर्न आग्रह गर्नुभयो । 

नेकपा (एमाले)ले आफ्नो निर्वाचन घोषणापत्रमा अगाडि सारेका २० ग्यारेण्टीमध्ये नागरिकताको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको बताउनुहुँदै अध्यक्ष ओलीले २०७४ को निर्वाचनमा आफ्नो नेतृत्वमा सरकार बनाउने गरी जनमत प्राप्त भएको र सोही बमोजिम बनेको सरकार ढाल्ने षडयन्त्र भएपछि आफूले ताजा जनादेशमा जाने निर्णय गर्दै संसद् विघटन गरेको बताउनुभयो । “मैले शेरबहादुर देउवाले जस्तो संसद् दरबारमा बुझाएको होइन । जनतामा जाने कदम प्रतिगमन हुन्छ ?”,  भन्दै प्रश्न गर्नुभयो  । 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ७ : ५१ बजे