आन्तरिक हवाई उडानमा अत्यधिक चाप

निर्वाचनलाई मध्यनजर गर्दै मधेस प्रदेशमा सुरक्षा व्यवस्था कडा

बारा । यही मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै मधेस प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

निर्वाचनका बखत हुन सक्ने घटना दुर्घटनालाई मध्यनजर गर्दै मधेस प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको हो । 

निर्वाचन नजिकिँदै गर्दा सीमा नाकामा खटेका सुरक्षाकर्मीहरूले नाकाबाट ओहोरदोहोर गर्नेहरूलाई कडाइका साथ चेकजाँच गर्नुका साथै मधेस प्रदेश प्रहरी कार्यालयको मातहतमा रहेको ८ वटा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाई समेतबाट खटिएका प्रहरी गस्ती टोलीले मधेस प्रदेशको विभिन्न स्थानहरूमा अभियानकै रूपमा सुरक्षा चेक जाँचका साथै गस्तीलाई पनि कडा पारेको हो ।

मधेस प्रदेशमा प्रहरीको गस्ती टोलीले सिमानाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टीका साथै नेपाल–भारतको खुल्ला नाकाका कारण हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न सवारी चेकजाँचमा पनि कडाइ गरेको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी प्रदेशमा सवारी चेक जाँचलाई कडाइसमेत गरिएको छ । 

चुनावका समयमा अवैधानिक सवारी साधन भित्रने र अवैधानिक गतिविधि हुने भन्दै प्रहरीले चेक जाँच सुरु गरेको हो । 

प्रदेश र प्रतिनिधिसभाका निर्वाचनलाई शान्तिपूर्ण बनाउन चेकजाँच कडाइ गरिएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँले बताउनुभयो ।

​​​​​​​

प्रहरी नायव महानिरीक्षक खाँले उम्मेदवारले आयोजना गर्ने सभा सम्मेलन, प्रचार प्रसारका साथै घरदैलो कार्यक्रममा पनि प्रहरी सुरक्षा बढाएको बताउँदै मतदाताहरू माझ निर्वाचन सफल बनाउन प्रहरीलाई सहयोग गर्न जनचेतना मूलक कार्यक्रम समेत सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले यस प्रदेशमा सुरक्षा व्यवस्था कडा बनाउन नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी, म्यादि प्रहरी र नेपाली सेनासमेत खटिएको बताउनुभयो । 

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशमा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै तीन चरणमा सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनको बेला सिमानाकामा बढ्न सक्ने आपराधिक गतिविधिहरूलाई मध्य नजर गर्दै सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा पारेको हो । मुलुककै प्रमुख नाकाको रूपमा रहेको वीरगञ्जको सीमा क्षेत्रमा दैनिक हजारौँको सङ्ख्यामा आवतजावत हुने गर्दछ । अवैध हातहतियार वा विस्फोटक पदार्थ भित्रिन सक्ने अवस्थालाई मध्यनजर गर्दै वीरगन्ज–रक्सौल सीमा क्षेत्रमा सुरक्षाकर्मीले तालिम प्राप्त कुकुरको परिचालन गर्दै मानिसको शरीर खानतलासी गरिरहेका छन् । 

मधेस प्रदेशका ८ वटै जिल्लाले भारतीय सीमासँग जोडिएको छ भने खुला सीमा र अति व्यस्त नाकाहरू भएर मोटरसाइकल, गाडी ट्रक लगायतका गरी दैनिक २० हजारदेखि ३० हजारको हाराहारीमा सवारी साधन आवतजावत गर्छ । ५० देखि ६० हजारको सङ्ख्यामा मानिसहरू दैनिक ओहोरदोहोर गर्ने गरेको छ । 

नेपाल–भारत सीमा नाका खुला भएको हुँदा खास गरी सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप बढी हुने गर्छ । साथै खुला सीमाको फाइदा उठाउँदै अपराधीहरूलाई छिमेकी मुलुक भारत प्रवेश गर्न, साना हातहतियार ल्याउन सहज रहेको छ । सोही कुरालाई मध्य नजर गर्दै मदेश प्रहरी कार्यालयले यस प्रदेशको सीमा नाकामा सुरक्षाकर्मीसहित तालिम प्राप्त कुकुरको परिचालन गरेको हो ।

​​​​​​​ 

निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना लागु गरिएको प्रहरी नायव महानिरीक्षक खाँले बताउनुभयो। उहाँले सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्न भारतीय समकक्षीहरूसँग समन्वय गरेर सीमा क्षेत्रको दुवैतर्फ आकस्मिक चेकजाँच, गस्ती परिचालन भइरहेको बताउनुभयो । 

उहाँले मधेस प्रदेशका जिल्लामा मतदान केन्द्रहरूमा सुरक्षाकर्मीहरू खट्ने कार्य सुरु भइसकेको हुँदा मङ्सिर ४ गतेको निर्वाचनमा निर्धक्क भई मतदान गर्न मतदाताहरूलाई आग्रह गर्नुभएको छ ।  मधेस प्रदेशमा निर्वाचन अवधिभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ ।  

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ११ : ५१ बजे