सन् २०२४ को राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने ट्रम्पको घोषणा

न्युयोर्क ।  ‘अमेरिकाको पुनरागमन अहिले नै सुरु हुँदै छ’ भन्ने बाचासहित पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा अमेरिकी राष्ट्रपतिको चुनाव पुनः लड्ने योजना बनाएको बताउनुभएको छ  । 

उहाँले आफ्नो फ्लोरिडास्थित मार–ए–लागोमा एक घण्टा लामो भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै उक्त घोषणा गर्नुभएको हो । 

पूर्व राष्ट्रपति ट्रम्प कतिपय रिपब्लिकन आधारमा अझै लोकप्रिय छन् । राष्ट्रपतिको लागि उम्मेदवार हुन ट्रम्पले रिपब्लिकन पार्टीको मनोनयन जित्नुपर्नेछ । अन्य रिपब्लिकन नेताले पनि यसको लागि प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

गत साता ट्रम्पले फ्लोरिडाका गभर्नर तथा  उदाउँदो रिपब्लिकन स्टार रोन डिसेन्टिसको आलोचना गर्नुभएको थियो । उहाँले राष्ट्रपतिको मनोनयनमा भाग लने बताउनुभएको थियो ।

यसैबीच, ट्रम्पकी छोरी इभान्का ट्रम्पले आफ्नो बाबुको २०२४ को अभियानमा नलाग्ने बताउनुभएको छ  । “म मेरो बुबालाई धेरै माया गर्छु”, उहाँले भन्नुभएको छ, “यस पटक, म मेरा साना बच्चाहरू र हामीले परिवारको रूपमा सिर्जना गर्ने निजी जीवनलाई प्राथमिकता दिन छनौट गर्दैछु ।” एजेन्सी

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ११ : ०१ बजे