उपचार लक्षणको गर्ने कि कारणको ?

माक्र्स र एङ्गेल्सले समाजलाई सजिलोसँग बुझ्न आधार र उपरिसंरचनाको बारेमा व्याख्या गरे । अर्थतन्त्र – उत्पादनका साधन, उत्पादन सम्बन्धलाई संरचनाको आधार माने । यसै आधारमा उपरिसंरचना–  राजनीति, संस्कृति, शिक्षा, धर्म, कला, विचारधारा, दर्शन आदि रहन्छ भने । जब आधारमा परिवर्तन आउँछ तब उपरिसंरचनामा स्वतः परिवर्तन आउँछ भने । अहिले हामी समाजको आधार संरचनामा नयाँ ढङ्गले व्यापक परिवर्तन भएको अवस्थामा छौँ । अहिले डाटा पुँजीवादमा प्रवेश गरेका छौँ । कृषिमा आधारित अर्थतन्त्रमा जमिन उत्पादनको सबैभन्दा प्राथमिक साधन थियो । हलो, कुटो , कोदालो, ट्याक्टर, हाते मेसिन, बीउ विजन आदि सहायक साधन थिए । खाद्य सामग्री यसको मूल उत्पादन थियो ।

उद्योगमा आधारित अर्थतन्त्रमा उद्योगको उत्पादन नै सबैभन्दा आधारभूत र महत्त्वपूर्ण साधन थियो । मेसिन, औजार र कच्चा पदार्थ त्यसका सहायक साधन थिए । उपभोगका वस्तुहरू, सुविधाका वस्तुहरू उसका मूल उत्पादन थिए । मानिसको श्रम त्यहाँ उपयोग हुन्थ्यो । यी दुवै चरणमा मानिसको ज्ञान, सीप पनि एक प्रकारको साधनको रूपमा काम गर्थे । भौतिक र अभौतिक साधनको प्रयोग हुन्थ्यो । अब डाटा पुँजीवादमा उत्पादनको मूल साधन डिजिटल प्लेटफर्म हुनेछन् । ठुला ठुला डाटा सेन्टरहरू हुनेछन् । कम्प्युटर, चिप्स, बिजुली जस्ता सीमित वस्तुहरू सहायक साधनको रूपमा रहने छन् । छरिएका बोधगम्य डाटाहरू कच्चा पदार्थको रूपमा रहनेछन् । मानिसको बौद्धिक शक्तिलाई पनि एक प्रकारको कच्चा पदार्थका रूपमा उपयोग गरिँदै छ । सङ्गठित सूचनाहरू यसका मूल उत्पादन(production)  हुँदै छन्  । यी सूचना मालका रूपमा विक्री वितरण हुँदै छन् । सेवा   (Service), नेटवर्किङ यसको उपभोगको क्षेत्र भएको छ । मानवीय बौद्धिक श्रमका अतिरिक्त रोबोट, कृत्रिम बौद्धिकता, ड्रोन आदिले पनि शारीरिक र बौद्धिक श्रम गर्दै छन् ।

अहिलेको युग ज्ञान पुँजीको युग हो । जोसँग ज्ञान छ, त्यो धनी छ, शक्तिशाली छ र पहुँचवाला छ । यहाँ ज्ञान मानिसको दिमागमा कैद भएको मात्र नभएर ज्ञानको परिणाम स्वरूप भएका अन्वेषण समेत भन्न खोजिएको हो । अहिलेको डिजिटल प्रविधि मानव ज्ञानको उपज हो । त्यसैले यो ज्ञान पुँजी हो ।  विश्व बैङ्कको २०२२ को एक रिपोर्ट अनुसार विश्वको लगभग ७० प्रतिशत पुँजी मानव ज्ञान वा डिजिटल बौद्धिकता  (अटोमेशन, एप्स, डिजिटल प्रणाली, कृत्रिम बौद्धिकता) मा आधारित छ । बिग डेटा सेन्टरहरू जस्तै फेसबुक, गुगल, एमाजन, एप्पल, अलिबाबा र अन्य उद्योगजन्य क्षेत्रमा व्यवस्थापकीय र बजारीकरणमा प्रयोग भएको डिजिटल बौद्धिकतालाई हेर्दा पुँजीको ठुलो हिस्सा डिजिटल प्रविधिको वरिपरि भएको देखिन्छ । यसरी समाजको आधार संरचनामा बदलाव आएको छ । यससँगै उत्पादन सम्बन्ध पनि फेरिएको छ । औद्योगिक युगमा जस्तो पुँजीपति र कामदारको सम्बन्ध छैन । मध्यम स्तरका कामदारहरू क्रमशः कामको दुनियाँबाट अलग्गिँदै छन्  । नयाँ तर आर्थिक रूपमा बेकामे वर्गको उदय भएको छ । यो वर्ग सङ्ख्यामा ठुलो हुने देखिन्छ ।  

यसै पृष्ठभूमिमा नेपालको अहिलेको राजनीतिलाई पाँच कोणबाट हेर्न सकिन्छ । ती यस प्रकार छन्:
१ सूचना वा डेटा सम्पत्ति र शक्तिको रूपमा विकास भएकोले यसलाई प्रयोग गरी व्यक्तिगत रूपमा राजनीतिमा प्रवेश गर्न खोज्ने प्रवृत्ति बढेको छ । यहाँ सूचना अथवा डाटा सम्पत्ति र शक्तिको रूपमा विकास हुनु कारण हो भने यस्तो शक्तिको प्रयोग गरी राजनीति गर्नु लक्षण हो । 
२ ज्ञान पुँजीको युगको रूपमा विकास हुनु कारण हो भने ज्ञानलाई आफ्नो शक्ति मानी म ज्ञानी छु, सक्षम छु भन्दै एक्लै दुनियाँलाई बदल्न सक्छु भनी राजनीतिमा होमिनु लक्षण हो । 
३ आमसञ्चारभन्दा सामाजिक सञ्जाल बलियो हुनु कारण हो भने सामाजिक सञ्जालको बलमा, माइक्रोसेलिब्रेटीका रूपमा राजनीतिमा लाग्नु लक्षण हो । यहाँ आर्थिक रूपमा बेकामे बन्दै गएको वर्गले आफ्नो छट्पटिएको भावनालाई छचल्काउनु लक्षण हो । 
४ परिवर्तित सिकाइ माध्यमको कारण विचार, ऐतिहासिक विरासत नयाँ पुस्तामा हस्तान्तरण नहुनु कारण हो भने विगतलाई दुत्कार्ने संस्कार लक्षण हो । 
५ छिटो छिटो परिवर्तन भइरहने दुनियाँमा जन्मेको पुस्तामा छिटो नतिजा चाहने मनोविज्ञानको विकास हुनु कारण हो भने राजनीतिक दल नै नतिजा नदिने कारण हुन भनी कुर्लनु लक्षण हो ।

यी पाँच वटा क्षेत्रमा बदलाव नआएको भए विचार विहीन व्यक्तिगत राजनीतिको लहर सायदै आउँथ्यो होला । त्यसैले कारण बुझ्नु आवश्यक छ । 

अर्कातिर अमेरिकी नागरिक तथा आधुनिक युगका एक प्रभावशाली चिन्तक फ्रान्सिस फुकुयामाले मनोवैज्ञानिक कारणले मानिसहरू दुई प्रकारका हुन्छन् भने । ती दुई प्रकार हुन्:
​​​​​​​१. समाजमा अरूभन्दा सुपेरियर(सर्वोच्च) भएर बाँच्ने आकाङ्क्षा 🙁  Megalothymia) भएका मानिसहरू 
२. समाजमा अरू सरह अधिकारसहित बाँच्न चाहना ( Isothymia) भएका मानिसहरू । 

यी दुईमध्ये पहिलो वाला जहिले पनि समाजमा अरूभन्दा अब्बल भएर बाँच्न चाहन्छन् । यिनीहरूले अरूको अस्तित्व स्वीकार गर्दैनन् । अहिले व्यक्तिगत चाहना प्रेरित राजनीतिको रहर गर्नेहरू यस्तै सुपेरियर चाहना भएकाहरू हुन् । किन भने यिनीहरू आफू मात्रै जान्ने ठान्छन्, अरूलाई अज्ञानी र अञ्जान ठान्दछन् । यिनीहरूका हरेक गतिविधि नियाल्दा यो पुष्टि हुन्छ । त्यस्तै म बदल्छु, अरूले सक्दैनन् भनी कुर्लनेहरू सबैलाई एउटै कोठामा राखेर अब तपाईँहरूले साझा नेता उपनेता लगायत बनाएर आउनुहोस् भन्ने हो भने सक्दैनन् । किन भने त्यहाँ कसैले कसैको अस्तित्व स्वीकार गर्दैनन् । उनीहरूलाई सुपेरियर बन्ने चाहनाले बन्देज गरेको हुन्छ । अरूलाई स्वीकार गर्नु परे छोडेर भाग्छन् । त्यसैले यस्ता मनोवैज्ञानिक आकाङ्क्षा भएकाहरूले साझा प्रतिनिधित्व गर्न सक्दैनन् ।

त्यस्तै माथि उल्लेखित कारणले फ्याट्ट जन्मिएकाहरू वर्गीय रूपमा माथिल्लो वर्गका हुन् । यिनीहरू हिजो शिक्षामा र सुविधामा अवसर पाएकाहरू हुन् । अधिकांश सुविधा पाएर विदेशमा गएर पढेका, धनाढ्यका छोराछोरी हुन् । यिनीहरू अरूलाई अज्ञानी मात्र देख्छन्, आफूलाई सभ्य र सर्वज्ञ ठान्छन् । हिजो पनि पुँजीवादीहरू यस्तै गर्थे । 

आधुनिक युगमा त्यस्तो कुनै व्यवस्था छैन जसलाई सबैले मानोस्, त्यस्तो नेता छैन जसलाई सबैको समर्थन होस् । बिहान खाएको तरकारी जति मिठो भए पनि साँझ खान मन लाग्दैन । हिजो लगाएको लुगा जति राम्रो भए पनि आज लगाउन मन लाग्दैन । एक पटक हेरेको फिल्म फेरि हेर्न कोसिस गरिँदैन । एक पटक घुमेको ठाउँमा फेरि घुम्न मन लाग्दैन । एक पटक सुनेको कथा फेरि सुन्दा फिक्का लाग्छ । यस्तै यस्तै फेरिरहने विषय मानिसको प्राकृतिक प्रवृत्ति हो । मानिसको यही परिवर्तित प्रवृत्तिका कारण कहिलेकाहीँ मुख फेर्नका लागि मिठो छोडेर नमिठो खान खोज्छ । अमेरिकामा हिलारीलाई छोडेर ट्रम्पलाई रोजे जस्तो । अझ अहिले त अर्ग्यानिक मकै, भटमास, कोदो, दूध, दही भन्दा चाउचाउ, कोकाकोला पनि रोजाइमा पर्ने गरेको छ । 

यो चुनावमा पनि कतै कतै प्राङ्गारिक—अर्ग्यानिक छोडेर जङ्क खाना रोज्ने सम्भावना पनि छ । एउटै खाँदा खाँदा आजित भएर मुख फेर्न । जङ्क फुड तत्काल मिठो भए पनि स्वास्थ्यमा असर गर्छ । कसैका भाषण र गफ तत्कालका लागि मिठो लागे पनि लोकतन्त्रलाई खराब गर्न सक्छ । यहाँ बुझ्नै पर्ने कुरा पुराना सबै प्राङ्गारिक होइनन्, नयाँ सबै जङ्क होइनन् । हामी मतदाताले अर्ग्यानिक र जङ्क छुट्याउनु पर्छ । फेर्ने नाममा जङ्क खानुहुँदैन, अर्ग्यानिकको नाममा बासी सढेगलेको खानु हुँदैन ।

समाजको आधार संरचनामा आएको बदलाबका कारण क्षणिक पपुलिस्ट राजनीति जन्मियो र यसलाई मलजल गर्ने काम अहिलेको विकृत राजनीतिले गर्‍यो । आगामी राजनीति अझै जटिल र धमिलिने सम्भावना छ । विचार विहिनताको अराजकता छचल्केर समाजमा धुमिलपन आउने र त्यसलाई सङ्लो बनाउन समय लाग्ने देखिन्छ । त्यसैले समयमै सचेत हुन आवश्यक छ । खराब राजनीतिको विकल्प असल राजनीति हो । विचार विहिनताको राजनीतिको विकल्प वैचारिक राजनीति हो । अस्थिर राजनीतिको विकल्प स्थिर राजनीति हो । पत्रु राजनीतिको विकल्प अर्ग्यानिक राजनीति हो । त्यसैले अबको मूल राजनीति समाजको आधार संरचनामा आएको परिवर्तन र त्यसले उपरिसंरचनामा पार्ने प्रभावलाई बुझेर सोही मुताबिक अगाडि बढ्नुपर्छ । जो यसरी समयको गति अनुसार अगाडि बढ्छ, त्यो टिक्छ, आफू नबदलिनेहरूको पतन अवश्यम्भावी छ । त्यसैले सबैको ध्यान लक्षणमा होइन, कारणमा जाओस् ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ ।)

 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १० : २८ बजे