एमालेले राज्य र जनताको आम्दानी बढाउन थुप्रै कार्यक्रम अघि सारेको छ : महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शङ्कर पोख्रेलले एमालेले सामाजिक न्यायमा आधारित लोककल्याणकारी राज्य निर्माणको योजना अघि सारेको बताउनुभएको छ ।

रुकुम–दाङ सम्पर्क समूहले मङ्गलवार घोराहीमा आयोजना गरेको उम्मेदवार भेटघाट तथा चुनावी अभियान कार्यक्रममा महासचिव पोख्रेलले लोककल्याणकारी राज्य निर्माणका लागि २० ग्यारेन्टीसहितका कार्यक्रम अघि सारिएको बताउनुभयो। 

२०५१ मै मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले एक सय रुपियाँबाट सुरु गरेको वृद्ध भत्ता अहिले चार हजार पुर्‍याएका छौँ, एकल महिला, अपाङ्गता भएका हुँदै सुत्केरी भत्तासम्म उपलब्ध गराएको बताउँदै उहाँले अब एमालेको सरकार बन्छ र हरेक महिलालाई महिनावारी भत्ता कार्यक्रम ल्याउने बताउनुभयो ।  उहाँले महिनावारी समस्याका कारण हुने पाठेघरको समस्या रोक्न हरेक वर्ष एकमुष्ट एक हजार पाँच सय रुपियाँ खातामै राखिदिने छौँ । भन्नुभयो ।

महासचिव पोख्रेलले गरिब परिवारका लागि बिजुली र खानेपानी पनि निःशुल्क गरिने बताउनुभयो । पाँच वर्षमा गर्ने २० ग्यारेन्टीबारे उल्लेख गर्दै महासचिव पोख्रेलले भन्नुभयो– “गरिब परिवारको घरमा पनि बिजुली पुर्‍याउँछौ अनि हिउँदमा ३० युनिट र वर्षामा ५० युनिटसम्मको विद्युत् निःशुल्क उपलब्ध गराउँछौँ । त्यस्तै हरेक घरमा धारा पुर्‍याउँछौ र पानी पनि निःशुल्क उपलब्ध गराउँछौँ ।”

उहाँले एमालेले राज्य र जनताको आम्दानी बढाउन थुप्रै कार्यक्रम अघि सारेको बताउनुभयो । जनताको समृद्धि, सामाजिक सुरक्षा र आधारभूत आवश्यकता पूर्तिको काम राज्यले गर्ने भन्दै महासचिव पोख्रेलले राष्ट्रिय प्राथमिकताका विषयलाई पनि महत्त्वका साथ अघि सारेको उल्लेख गर्नुभयो । 

प्राथमिकताका पाँच क्षेत्रबारे बोल्दै महासचिव पोख्रेलले भन्नुभयो– “राष्ट्रिय स्वाधीनताको रक्षा, सामाजिक न्यायमा आधारित लोक कल्याणकारी राज्य निर्माण, सुशासन र प्रविधियुक्त विकास तथा विद्युतीय शासन व्यवस्था र समाजवाद उन्मुख कार्यक्रमलगायत समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेको प्राथमिकताका विषय हुन् ।”

उहाँले एमाले सरकार ढलेपछि बनेको सरकारले झन् अव्यवस्था, बेथिति, भ्रष्टाचार र कुशासन मौलाएको भन्दै मङ्सिर ४ पछि जनादेशको सरकार बनाउनुपर्ने बताउनुभयो । 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : ०३ बजे