दोलखा गठबन्धनमा निरन्तर पहिरो, काँग्रेस वडा कमिटी नै एमालेमा प्रवेश

काठमाडौँ । दोलखा जिल्लामा गठबन्धन गरेका दलहरू बीचमा असन्तुष्टि झाँगिँदै गएको छ । 

यसै क्रममा गठबन्धनमा आफूहरूको अवमूल्यन गरिएको भन्दै दोलखाको गौरीशङ्कर गाउँपालिकाको वडा नम्बर ८  खारेमा नेपाली काँग्रेसको सिङ्गो कमिटी नै नेकपा (एमाले)मा प्रवेश गरेको छ । वडा सभापति टिका गुरुङको नेतृत्वमा दर्जनौँ नेता कार्यकर्ता आज एमालेमा प्रवेश गरेका हुन् । 

नेकपा एमालेले खारेमा आयोजना गरेको चुनावी कार्यक्रममा काँग्रेस पार्टीप्रति असन्तुष्ट जनाउँदै काँग्रेस नेताहरू कृष्ण बहादुर तामाङ, वडा सदस्यको उम्मेदवार तक्तबहादुर तामाङ, पुराना काँग्रेस नेता बाबु काजी गुरुङ, मीनबहादुर तामाङ, तरुण दलका वडा सभापति विकास गुरुङ, तरुण दलको वडा सदस्य वितेस पाख्रिन, पदम मगर लगायतका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेसले गरेको अन्याय र अत्याचार कै कारण एमालेमा प्रवेश गरेको उनीहरूले बताएका छन् । 

नवप्रवेशीहरूलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटी, नेकपा एमालेका पोलिटव्युरो सदस्य पार्वत गुरुङ लगायतले खादा माला लगाएर स्वागत गर्नुभएको थियो ।

गौरीशङ्कर गाउँपालिकामा गठबन्धनमा निरन्तर पहिरो गइरहेको छ । यसअघि पालिकाको ७ नं साबिक मार्वु गाविसको सिङ्गो गाउँ कमिटी एमालेमा प्रवेश गरेको थियो। 

 

 

 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १० : ०४ बजे