‘नेशनल डे कन्सर्ट’ सम्पन्न

जुनसुकै टोल बस्तीमा गएर मैले यो गरेँ भनेर छाती पिटेर भन्न सक्छु  :  जीवन घिमिरे

२०३६ सालमा झापा शिवगञ्जको जनआदर्श माविको स्ववियु सभापतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएका जीवन घिमिरे २०३५ सालमा पार्टीमा आबद्ध भएदेखि अनवरत रूपमा राजनीतिमा रहनुभएको छ भने उहाँ अहिले नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ को सह इन्चार्जको भूमिकामा हुनुहुन्छ । 

घिमिरे २०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ४ (ख) बाट निर्वाचित भए । २०७४ फागुनमा शेरधन राई नेतृत्वको पहिलो प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत रहनुभएका घिमिरेले प्रदेश सरकारमा रहँदा तीन वर्ष समग्र प्रदेशको विकासमा आफ्नो ध्यान केन्द्रित गरे । विकास प्रेमी नेता घिमिरे आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नं. ४ (ख) मा प्रदेशसभा सदस्यमा नेकपा एमालेबाट उम्मेदवार हुनुहुन्छ । एमाले उम्मेदवार घिमिरेसँग गरिएको कुराकानीको सारसंक्षेप:

चुनावी अभियान कसरी चलिरहेको छ ?
​​​​​​​घरदैलो र भेटघाट कार्यक्रम करिब ९५ प्रतिशत सकिएको छ । मनोनयन दर्तापछि नै मतदाता कहाँ भेट्ने, घरदैलो गर्ने काम निरन्तर रह्यो । निर्वाचन आयोगको आचारसंहिता अनुसार कात्तिक १७ देखि टोल सभा, कोणसभाहरू भइरहेका छन् । निर्वाचन क्षेत्र अन्तर्गतका विराटनगर १, २, ३, ८, १०, कटहरी १, २ र ३ मा घरदैलो, मतदाता भेट, कोणसभा, टोल सभा लगायतका कामहरू भइरहेका छन् । 

तपाईँका विरुद्ध गठबन्धन उम्मेदवार छन् ? मतदाता कहाँ पुग्दा कस्तो महसुस भइरहेको छ ?
मेरो क्षेत्रमा गठबन्धन हुनु र नहुनुको तात्त्विक अर्थ छैन । यसलाई गत वैशाखमा सम्पन्न स्थानीय तहको मत परिणामले पनि देखाएको छ । २०७४ को प्रदेशसभा निर्वाचनमा म उम्मेदवार हुँदै गर्दा एमालेले मोरङ ४ (ख) को निर्वाचन क्षेत्रमा एउटा वडा जितेको थियो । अहिले एउटा वडाका ५ जना सदस्य बाहेक सबै वडाहरू एमालेले जितेको छ । यो जित गठबन्धनका बाबजुदको जित हो । अघिल्लो निर्वाचनमा प्रतिकुल अवस्थामा मैले भारी मतान्तरमा जितेको निर्वाचन क्षेत्र हो । यसले पनि मेरो जितको आधार देखाइरहेको छ । मतदाताका घर–घरमा पुग्दा छुट्टै उत्साह छ । सबैले माया गर्नु भएको छ । तपाई काम गर्ने नेता हो भन्नुहुन्छ । अवसर पाउँदा कसरी काम गर्न सकिन्छ भन्ने कुरा तपाईँबाट देखिएको छ भन्नुहुन्छ । पहिलेको निर्वाचनमा भन्दा यस पटक उत्साहित छु । 

एमाले विरुद्ध तपाईँको क्षेत्रमा गठबन्धन छ नि ?
मेरो क्षेत्रमा गठबन्धनलाई स्थानीय तह निर्वाचनमा पराजित गरिसकेको अवस्था छ । त्यसैले गठबन्धन सुन्नमा प्रिय लाग्ला तर निर्वाचन क्षेत्रमा गठबन्धन छैन । त्यस्तो मैले देखेको छैन । 

तपाईँका मुख्य एजेन्डाहरू के–के हुन ?
हामीले हिजो सरकारमा छँदा प्रदेश सरकार, स्थानीय सरकार र सङ्घीय सरकारको लागत साझेदारीमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने भनेर तीनै पक्षवीच साझा सम्झौता भएको छ । जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएर बजेट समेत विनियोजन भएको अवस्थामा आज त्यो काम बदर भएको छ । बजेट फिर्ता गएको छ । सङ्घीय सरकारले सम्झौता तोडेको अवस्था छ । यो विराटनगरवासी र प्रदेशबासीका लागि पीडादायी घटना हो । हामी भोलि सरकारमा गएपछि हिजो भएको सम्झौता अनुसारको काम अघि बढाउने छौँ । 

दोस्रो कुरा विराटनगर आज हरेक सूचकबाट हेर्दा छैटौँ नम्बरमा छ ।काठमाडौँ पछिको दोस्रो ठुलो सहरका रूपमा चिनिँदै आएको आज किन छैटौँ भयो, कसले पुर्‍यायो ? यसको पहिचान गरेर यसको निदान गरी विराटनगरको हैसियत अभिवृद्धि गरिने छ । विराटनगरसँग जोडिएका दुई वटा खोलाहरू छन् । दुई वटै नदी अहिले डम्पिङ साईड भएका छन् । फोहोर फाँक्ने केन्द्र बनेका थिए । म सरकारमा भएको समयमा त्यहाँ फोहोर फाल्नु हुँदैन । यसको रक्षा गर्नुपर्छ भनेर अभियान चलाए । पुस–माघको जाडामा समेत दैनिक २÷३ हजारको सहभागिता भयो । जनतामा खोलामा लगेर फोहोर फाल्नु नहुने रहेछ भन्ने चेतना जगाउन सफल भएको छु । यी खोलाहरूको सौन्दर्यीकरण गर्ने मेरो सपना छ । म यी दुई खोलालाई विराटनगरको डम्पिङ साईड हैन विराटनगरको गन्तव्य स्थल बनाउने मेरो लक्ष्य छ । विराटनगरमा १४ वर्षदेखि बेवारिसे अवस्थामा रहेको चक्रपथको काम हामी सरकारमा हुँदा अघि बढेको थियो । तर ठुलो स्केलको काम भएकाले यो पुरा हुन सकेको छैन । यो काम हामी पुरा गर्ने छौँ । विराटनगर–कटहरी–बथनाह रेल्वे लामो समयदेखि बेवारिसे अवस्था छ । हामीले नै नेपाल सरकार, भारत सरकार, सरोकारवालाहरूसँग पहल गर्नाले रेल्वे सेवा अव बथनाहबाट भेडियारी सम्म एक–दुई महिनामा रेल आउने अवस्था छ । त्यसको बाँकी खण्ड कटहरी सम्मको काम पुरा गरी रेल सञ्चालन गरिने छ । 

समग्र १ नं. प्रदेशको समृद्धि र विकास हाम्रो उद्देश्य हुनेछ । समृद्धिका आधारहरू हामीले पहिचान गरेका छौँ । शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, जलश्रोत, कृषि जस्ता विषयहरू हाम्रो प्राथमिकतामा पर्छन् । यसको संरक्षण, संवर्द्धन, उपभोग कसरी गर्ने भनेर हामीले योजना बनाएका छौँ । 

तपाईँका मुख्य चुनौती के छन् ?
मैले त खास चुनौती देखेको छैन । प्रतिस्पर्धा रहित ढङ्गबाट अघि बढेको छु । पहिलो कुरा त मेरो पार्टीको सङ्गठनात्मक सञ्जाल छ । यस्तो सञ्जाल अरू कसैसँग छैन । टोल तहसम्म हाम्रो सङ्गठनात्मक सञ्जाल छ । पार्टीभित्र एकता छ । पार्टी गतिशील छ । दोस्रो कुरा यो निर्वाचन क्षेत्रमा मात्रै हैन १ नं. प्रदेश मै म सरकारमा हुँदा धेरै उल्लेखनीय कामहरू भएका छन् । त्यसै क्रममा यो निर्वाचन क्षेत्रमा दर्जनौँ कामहरू यहाँ भएका छन् । म जुनसुकै टोल बस्तीमा गएर पनि मैले यो गरेँ भनेर छाती पिटेर भन्न सक्छु । मेरो कामले जनताको मन जितेको छ । जुन हैसियत अरू कसैले बनाउन सकेका छैनन् । 

तपाईँसँगको मुख्य प्रतिस्पर्धी विराटनगरका परिचित व्यक्ति हुनुहुन्छ । उहाँले पनि एक कार्यकाल महानगरको नेतृत्व गर्नु भएको छ । उहाँका कामले पनि कत्तिको असर गर्ने देख्नुहुन्छ ?
उहाँका कामले मलाई असर नगर्ला । हामी दुई उम्मेदवारको राजनीतिक जीवनको पनि जनताले अध्ययन गर्नुभएको छ । हामी दुवै उम्मेदवारले जनप्रतिनिधिको जिम्मेवारी पुरा गरिसकेको हुनाले परिचयको पनि अभाव छैन । दुवै उम्मेदवार के हुन कस्ता हुन ? कसले कति गर्न सक्छ, सक्दैन भन्ने कुरा जनसमक्ष प्रष्ट छ । जनप्रतिनिधि भएर मात्रै पनि भएन । जिम्मेवारीमा बस्नु, ओहोदामा पुग्नु मात्रैलाई काम गरेको भन्न मिल्दैन । जनताको पक्षमा काम गरेर जनविश्वास आर्जन गरेको हुनुपर्‍यो । 

तपाई मुख्यमन्त्रीको आकाङ्क्षी पनि हो नि ?
यति बेला मुख्यमन्त्री को हुने भनेर बहस गरिहाल्ने समय हो जस्तो मलाई लाग्दैन । अहिले चुनावी अभियानमा छु । त्यसपछि मुख्यमन्त्री बन्नका लागि चाहिने आवश्यक सङ्ख्या पनि हामीले पुर्‍याउनुपर्‍यो । म पार्टीको प्रदेशको सह इन्चार्ज पनि हो । मेरो निर्वाचन क्षेत्र मात्रै हैन ५६ वटै निर्वाचन क्षेत्रमा मेरो ध्यान बहुमत कसरी ल्याउन सकिन्छ भनेर हामी लागि रहेको अवस्था पनि छ । जब निर्वाचनको परिणाम आउँछ त्यसपछि मात्रै यस विषयमा प्रवेश गर्छौ । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ८ : ५६ बजे