अब संसद् कस्तो बनाउने ? त्यो संसद्मा जाने सांसदहरूको चरित्र र नियत कस्तो हुनुपर्छ ? अनि संसद्मा कुन वैचारिक मान्यताबाट निर्देशित उम्मेदवार छान्ने र पार्टीलाई बहुमत दिने ? ‘समृद्ध नेपाल , सुखी नेपाली’ बनाउने राष्ट्रिय सङ्कल्प कुन दलले बोकेको छ ? उपलब्ध दल र उम्मेदवारहरू मध्ये कुन दल र उम्मेदवारलाई जिताउँदा देशले जित्छ ? विगतको त्याग, वर्तमानमा योगदान र भविष्यप्रतिको दृष्टिकोण र समर्पण कसको राम्रो छ ? मतदान गर्नुभन्दा अघि यी माथिका प्रश्नहरूमा हामी स्पष्ट हुनुपर्छ । तर पछिल्लो समय भ्रमित भिड सिर्जना गरेर देशको परिस्थिति र नागरिकको मनस्थितिलाई नकारात्मक बनाउने प्रयास भइरहेको छ ।
यतिखेर राज्यको चौथो अङ्ग सञ्चार जगतले पनि सकारात्मक र रचनात्मक धारको समाचार, टिप्पणी र विश्लेषणभन्दा नकारात्मकता बेचेर कमाउने प्रवृत्ति देखाउँदा सामाजिक मनोविज्ञान नकारात्मक बन्दै छ । यो खालको परिवेसले लोकतान्त्रिक गणतन्त्र विरोधीहरूको मात्र होइन नियन्त्रित अस्थिरता चाहनेहरूको पनि मनोबल बढेको छ ।
राजनीतिमा गन्तव्य र कर्तव्य सधैँ स्पष्ट हुनुपर्छ । राजनीतिक दर्शन र चरित्रले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने परिकल्पना गरेको हुनुपर्छ । राजनीतिक दर्शन, चरित्र र व्यवहारबीच सधैँ तादाम्यता पनि मिलेको हुनुपर्छ । हामी सबैले बुझ्नुपर्छ, असल असल नै हुन्छ र गलत गलत नै हुन्छ । सत्य कहिल्यै डग्दैन् । कहिलेकाहीँ गलतले असल र असत्यले सत्यमाथि जितको दावा गर्न सक्छ । तर त्यो दावा केही समय प्रभावशाली देखिएता पनि दिगो हुँदैन, जसरी पहिलो संविधानसभाको चुनावमा माओवादी केन्द्र सबभन्दा ठुलो दल बनेको थियो ।
विद्यार्थी कालमा ’कलम ठुलो कि तरबार’ भन्नेमा वादविवाद गरिन्थ्यो । आज त्यो गौण भएको छ । आज हामी व्यावहारिक जीवनमा ’मन ठुलो कि धन’ भन्ने विवादमा फसेका छौँ । जीवनको उत्तरार्धमा पुग्दा ’मृत्यु ठुलो कि जीवन’ भन्ने होला अनि मृत्युपछि ’नाम ठुलो कि काम’ भन्ने बहसको विषय बन्ला ! अहिले चुनावको माहौल छ, राजनैतिक जीवनमा ‘गठबन्धन ठुलो कि विचार’ अनि ’ब्यालेट ठुलो कि बुलेट’ भन्ने मुद्दा प्रधान भएको छ र भोट केमा भन्ने प्रश्नले प्राथमिकता पाएको छ । हामीले बुझ्नुपर्छ, समय र सन्दर्भ अनुसार प्रश्नहरू फरक फरक हुन सक्छन् र प्राथमिकताहरू तोकिन्छन् । आज हामीले कुन प्रश्नमा केन्द्रित हुने र केलाई प्राथमिकता दिने भन्ने प्रश्नको वरिपरि रहेर ठिक उत्तर खोज्ने क्षमता देखाउनु पर्ने भएको छ ।
अहिले फलानो फलानो नेता हराऔँ भनेर No Not Again को नारा लगाउँदै छन् तर विकल्प को हो र के हो त्यो भने भन्दैनन् । नेपालमा नियन्त्रित अस्थिरता चाहनेहरूले न कुनै पार्टी न त कुनै नेता नै स्थापित र बलियो हुन नदिने रणनीतिबमोजिम No Not Again को नारा लगाउन सघाउँदै छन् । हिजो रवीन्द्र मिश्रको नेतृत्वमा रहेको दललाई वैकल्पिक भन्थे आज रबि लामिछानेले नेतृत्व गरेको दललाई ! जबकि रवीन्द्र मिश्रले नियन्त्रित अस्थिरता कायम गर्ने मिसन पूरा गर्न नसकेपछि अहिले रबि लामिछानेको नेतृत्वमा त्यो मिसन सफल बनाउने परिकल्पनाका साथ गतिविधिहरू भइरहेका छन् । उनीहरूको मुख्य उद्देश्य आगामी संसद् त्रिशंकु बनाउने नै हो ।
देशभन्दा विदेशमा आफ्नो भविष्य सुरक्षित हुने ठानेर कुनै पनि बेला विदेश पलायन हुन तयार भएर बसेको एउटा जमात अहिले कतै स्वतन्त्र भन्दैछन् त कतै घण्टी बजाउँदै छन् । अनि तिनैले सामाजिक सञ्जालमार्फत देश बनाउने राजनीति हामीलाई सिकाउन र देश चिनाउन खोज्दै छन् ।
यसले ठुलो सङ्ख्यामा रहेको युवा पुस्ता भ्रमित हुने सम्भावना बढेको छ । यसले एकातिर राष्ट्रिय राजनीति कमजोर बनाउने छ भने अर्कातिर नेपालमा नियन्त्रित अस्थिरता बढाउने छ । जबसम्म यस्तो कमजोर र अवसरवादी प्रवृत्ति भएका नागरिक तयार गर्ने शिक्षा तथा सामाजिक व्यवस्था कायम रहन्छ, तबसम्म देश भ्रमहरूबाट पीडित भइरहन्छ र समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्प पूरा गर्ने राजनीतिक परिस्थिति बन्दैन । समस्या हाम्रो शिक्षा तथा सामाजिक व्यवस्थामै छ । हाम्रा प्रायः धेरै प्राज्ञिकहरूमा दास मनोविज्ञान हुँदा शिक्षा तथा सामाजिक व्यवस्थामा आमूल परिवर्तनले प्राथमिकता नै पाएन । जसले गर्दा हाम्रो पछिल्लो पुस्ता भ्रम, प्रभाव र प्रलोभनमा परेर सञ्चालित भइरहेको छ ।
हाम्रो राजनीतिक चेतना, व्यवहार र संस्कारमा समस्या छ । यस्तो समस्या सिर्जना गर्ने खराब शिक्षा तथा सामाजिक व्यवस्था नै हो । तर हामी भने रूप पक्षलाई मात्र हेरेर सार पक्ष छोडेर सोहीअनुसार वर्तमान राजनीतिको विश्लेषण गरेर सामाजिक मनोविज्ञान नकारात्मक बनाउन उद्धत छौँ । हामी भ्रममा परेका हौँ कि ठिक सूचना र असल चेतनाको अभाव हो, छुट्याउन मुस्किल भएको छ । हाम्रो चेतना ज्यादै कमजोर भएको छ । परिणाममा अलमलिएर कारण खोज्नतिर लागेनौँ । चुनावको सम्मुखमा मेरो प्रश्न “शिक्षा बिग्रिएर हामी बिग्रिदा राजनीति बिग्रिएको हो कि राजनीति बिग्रिएर हामी बिग्रिँदा देशको अवस्था यस्तो भएको हो ?” चुनाव अगावै यो प्रश्नको उत्तर खोजेर आम मतदाताहरूलाई भ्रम, प्रभाव र प्रलोभनबाट मुक्त गरेर देशको पक्षमा मतदान गर्ने बनाउनुपरेको छ ।
२०४८ पछि नेपाली काँग्रेसले लिएको गलत नीति, २०५२–२०६२ १० वर्षमा माओवादीको हत्या, हिंसा, लुट र ध्वंसको राजनीति, २०५४ मा वामदेव गौतमको उग्रता, २०५८ मा दरबारभित्रै राजा वीरेन्द्रको वंशनास गर्ने हत्या काण्ड, भवितव्यमा परेर राजा भएका ज्ञानेन्द्रको सत्ता उन्मादपछि २०६२–२०६३ को शान्तिपूर्ण क्रान्तिले बढाएको जनअपेक्षा सम्बोधन गर्ने नीति बनाउन, प्रणाली विकास र काम गर्न सिकाउने शिक्षा तथा सामाजिक व्यवस्था नहुँदा राजनीति आलोचनाको केन्द्रमा छ भने दलका नेताहरू माथि एकोहोरो प्रहार भइरहेको छ । केही दल र नेताले गरेको बेइमानीले सबै उस्तै हुन भन्ने भाष्य बनाईंदैछ ।
केही मुख्य सञ्चार माध्यमहरू र सामाजिक सञ्जालमा जसले जे भने पनि चारित्रिक र नैतिक रूपमा प्रश्न उठेका पात्रहरू जनप्रतिनिधि हुन लायकका छैनन् भनेर हामीले बुझ्नुपर्छ र आम मतदातालाई पनि बुझाउनुपर्छ । तर त्यही खराब पात्रलाई मुख्य नेता र आदर्श मानेर पढेलेखेका बौद्धिक वर्ग भनेर चिनिएकाहरू पनि पछि पछि लागेका छन् । यसबाट ठोकुवाका साथ भन्न सकिन्छ, समस्या हाम्रो शिक्षा, सूचना र चेतनामा छ । अनि राजनीतिक साक्षरताको अभावले भोलिको राजनीति आजको भन्दा अझ बढी अस्थिर र अविश्वसनीय हुने हो कि भन्ने सन्त्रास सिर्जना भएको छ ।
माझण्डहरूको वैशाखीमा चुनाव लडेको नेपाली काँग्रेसले एकल बहुमत ल्याउने अवस्था छैन र तर त्यही पार्टीका महामन्त्री गगन थापा भने म नै भावी प्रधानमन्त्री हुँ मलाई जिताउनुस् भन्दैछन् । काँग्रेस पार्टीका प्रवक्ता शेरबहादुर देउवा नै भावी प्रधानमन्त्री हो भन्दैछन् । फेरि ४० प्लस सिटमा उम्मेदवार उठाएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफै भावी प्रधानमन्त्री भएको भनेर भाषण गर्दैछन् । जबकि गठबन्धनले औपचारिक रूपका को प्रधानमन्त्री बन्ने भनेर निर्णय नै गरेको छैन । यो खालको भ्रम छरेर र नकारात्मक कुरा गरेर चुनावमा जित खोज्नु भनेको राजनीतिक बेइमानी हो । यस्तो बेइमानी गरेर चुनाव जित्नेले भोलि ईमान देखाउन पनि सक्दैन ।
गठबन्धनभित्र फलानो फलानो नेताले ’मै हुँ प्रधानमन्त्रीको उम्मेदवार मलाई भोट दिएर जिताउनुस् भन्दैछन् ।” तर प्रधानमन्त्री बन्दैछु भन्ने पात्रलाई हराउन एउटा खेमाले अर्को खेमाका विरुद्ध गतिविधि गरिरहेको चर्चा बजारमा छ । को को डेञ्जर जोनमा छन् ? कसले कसलाई हराउन सक्छन् ? मङ्सिर ४ पछि मात्र थाहा हुनेछ । एउटा दलको अर्को दलले विरोध गर्नु स्वाभाविक नै हो तर पार्टी र गठबन्धनभित्रै बसेर धमिरा प्रवृत्ति देखाउनेहरूबाट न पार्टी र गठबन्धन बलियो बन्ने वाला छ न त लोकतन्त्रलाई प्रगतिशील देशमुखी बनाउन सकिन्छ । एउटै पार्टी र गठबन्धनमा बसेपछि सामूहिक निर्णयमा चल्न सक्नुपर्छ तर कुनै औपचारिक निर्णय गर्नुभन्दा अघि असहमति राख्न सकिन्छ तर निर्णय भइसकेपछि पार्टीको निर्णय सबैले मान्नै पर्छ, यदि र तर गर्न पाईंदैन् । बहुदलमा दल प्रधान हुन्छ, व्यक्ति होइन, हामीले बुझ्नुपर्छ ।
२०७२ सालको भारतीय नाकाबन्दीको मार भोगेका र देखेका पुस्ताले नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका गठबन्धनका दलहरू र बाह्य स्वार्थमा खडा भएको नयाँ पार्टीलाई मत दिएर देश कमजोर बनाउने बाह्य रणनीतिहरूलाई सफल बन्न दिनेवाला छैनन् । तर पनि उनीहरूलाई भ्रममा पार्न खोजिँदै छ । यतिखेर चुनावको सम्मुखमा बुद्धिमान मतदाताले भ्रमको प्रतिरोध गर्दछ, राष्ट्रिय हितको वकालत गर्दछ र राष्ट्रको लागि आफ्नो मताधिकार प्रयोग गर्दछ । त्यसैले सकारात्मक सोचका साथ, आइतबार, मङ्सिर ४, राष्ट्रको लागि भोट गर्ने दिन हो भनेर तयार हुन्छ ।
प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार ८ : २६ बजे
प्रतिक्रिया