आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ। हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी  भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विज्ञप्तिमा उल्लेख छ। 

सोमबार राती देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । 

सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : ४० बजे