राष्ट्रपतिलाई ‘ट्रेलब्लेजर’ सम्मान : सङ्घर्षको मैदानदेखि सम्मानको शिखरसम्म !

नोबेम्वर १०, २०२२ का दिन आइसल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी सम्मानित हुनुभएको छ । यो विषय हाम्रा लागि अत्यन्त हर्ष र गौरवको विषय हो । 

कुनै कुराले हर्षित तुल्याउँछ, कुनैले गौर बोध गराउँछ । हर्षमा गौरवको अनुभूति नहुन सक्दछ, तर गौरवमा भने हर्ष अन्तर्निहित हुन्छ । हर्ष व्यक्तिगत विषय मात्र हुन सक्दछ भने गौरवको दायरा फराकिलो हुन्छ । अहिले त्यस्तै भएको छ, हाम्रो देशका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई विश्वकै प्रतिष्ठित संस्था Women Political Leaders (WPL) (विमन पोलिटिकल लिडर्स) ले ट्रेलब्लेजर सम्मान (Trailblazer Award) बाट सम्मान  गरेको छ । 

यो सम्मान उहाँले गर्नुभएका योगदानका लागि प्रदान गरिएको सम्मान हो । यसका लागि सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई हार्दिक बधाई छ । यस सम्मानबाट नेपाली महिला आन्दोलनले हासिल गरेको उपलब्धि सम्मानित भएको छ र थप उपलब्धिका लागि उत्प्रेरित गरेको छ । 

यो ‘ट्रेलब्लेजर सम्मान (Trailblazer Award) त्यस्ता महिला व्यक्तित्वहरूलाई प्रदान गरिन्छ, जसको नेतृत्वमा परिवर्तन सफल भएको छ र जसले सफलताको निरन्तरताका लागि मार्गदर्शन तथा प्रेरित गर्दछन्, जसले परिवर्तनको मार्गमा अघि बढिरहन व्यावहारिक रूपमा नै विश्वस्त पार्दछन् । सारमा यो सम्मान सङ्घर्ष, सफलता, विश्वसनीयता, निरन्तरता र प्रेरणाका लागि दिइने गर्दछ र दिइएको छ । जुन सम्मान कुनै क्षेत्रमा विशिष्टता हासिल गरेका सृजनशील अग्रणी महिलाहरूलाई दिइँदै आएको छ । 

एउटा भनाइ छ, ‘सामान्य नै विशिष्ट हो ।’ राष्ट्रपति विद्यादेवी भण्डारीमा यही कुरा लागू भएको देखिन्छ । सामान्य परिवार, सामान्य जीवन, सामान्य अध्ययनबाट त्याग, निष्ठा र विशिष्ट कर्मका बलमा मुलुकको सर्वोच्च जिम्मेवारी राष्ट्रपति पदमा पुग्नुहुने विद्यादेवी भण्डारीको योगदान अहिले अन्तर्राष्ट्रिय प्रेरणाको विषय बनेको छ । 

विद्यादेवी भण्डारीको जन्म वि.सं. २०१८ असार ५ गते नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको माने भन्ज्याङमा भएको हो । आमा मिथिला पाण्डे र बुबा रामबहादुर पाण्डेका पाँच जना सन्तानमध्ये उहाँ जेठो सन्तान हुनुहुन्छ । पाण्डे परिवार गाउँको सामान्य किसान परिवार थियो । कुनै पनि सामान्य परिवारमा जन्मे हुर्केको मानिस राष्ट्रपति वा कुनै उच्च पदमा त्यसै टुप्लुक्क पुग्दैन । यहाँसम्म पुग्न अनेकौँ हन्डर ठक्कर बेहोर्नु पर्दछ । राष्ट्रपति विद्यादेवी भण्डारी पनि त्यस्ता सबै दुःख कष्ट बेहोर्नु नै भएको छ ।

उहाँले विद्यालयीय पढाइ गाउँकै स्थानीय विद्यालयमा गर्नुभयो । त्यसपछिको शिक्षा उहाँले पहिले भोजपुर र पछि विराटनगरमा लिनुभयो । भोजपुर क्याम्पसमा पढ्ने क्रममा नै उहाँ निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धको आन्दोलनमा सक्रिय रूपमा लागिसक्नुभएको थियो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को पूर्वी क्षेत्रको नेतृत्वमा रहनुभयो । यस क्रममा उहाँ विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कोषाध्यक्ष निर्वाचित हुनुभएको थियो । 

अहिले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा रहेको नेपालको सबैभन्दा ठुलो राजनीतिक दल नेकपा एमाले हो । यस पार्टीको विकास र विस्तारमा विद्यादेवी भण्डारीको महत्त्वपूर्ण भूमिका रहेको विषय घाम जत्तिकै छर्लङ्ग छ । यो पार्टीको जरो वि.सं. २०३५ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी (माले) हो । नेकपा माले बन्नुअघि नेपाल कम्युनिष्ट पार्टीका अनेकौँ घटक र अनेकौँ प्रकृतिका आन्दोलनहरू थिए, जसलाई नेपाली कम्युनिष्ट आन्दोलनका पूर्वाधारका रूपमा बुझ्न सकिन्छ । वि.स. २०३५ सालमा निर्माण गरिएको नेकपा मालेमा त्यति बेला क्रियाशील धेरै कम्युनिष्ट घटक तथा प्रवृत्तिहरू यसमा समाहित रहेको विषय कम्युनिष्ट आन्दोलनले बयान गर्दछन् । माले पार्टी स्थापनासँगै यसको युवा मोर्चा ‘यूथ लिग’ (YL) गठन भएको थियो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी त्यही यूथ लिगको कार्यकर्ताको रूपमा सङ्गठित भई प्रत्यक्ष राजनीतिक जीवनमा समर्पित हुनुभयो ।  

वि.स. २०३७ सालमा नेकपा माले निकट अखिल नेपाल महिला सङ्घको सदस्य बन्नुभयो ।  अखिल नेपाल महिला सङ्घमा सङ्गठित भएदेखि नै उहाँले नेपाली महिलाहरूले भोग्नुपरेका उत्पीडनका विरुद्धमा महिलाहरूका अधिकारका पक्षमा निरन्तर आवाज उठाइरहनुभयो । राजनीतिक, सामाजिक, आर्थिक रूपले आमूल परिवर्तनका लागि स्थापित कम्युनिष्ट पार्टीमा महिला अधिकार तथा लैङ्गिक समानताका लागि उहाँको सशक्त आवाजसहितको राजनीतिक क्रियाशीलताका कारण नै आज उहाँले यो स्थान र सम्मान प्राप्त गर्नुभएको हो भने महिला अधिकारका क्षेत्रमा अनेकौँ उपलब्धि हासिल भएका हुन् । आजको नेपाली महिला आन्दोलनको उँचाइका लागि उहाँले आफू अघिका अनेकौँ अग्रज महिलाहरूका योगदानहरूलाई सम्मानसहित एकत्र गर्नुभएको छ । 

अनेरास्ववियुमा सङ्गठित भई उहाँले विद्यार्थी तथा शैक्षिक आन्दोलनमा भूमिका निर्वाह गर्नुभयो । अखिल नेपाल महिला सङ्घमा आबद्ध र नेतृत्वका माध्यमबाट महिला अधिकारको क्षेत्रमा योगदान गर्नुभयो र पार्टीको सशक्त जुझारु कार्यकर्ता र नेताका रूपमा उहाँ नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफूलाई समर्पित गर्नुभयो । 

वि.सं. २०३९ सालमा उहाँको विवाह कम्युनिष्ट पार्टीका लोकप्रिय नेता मदन भण्डारीसँग भयो । त्यति बेला मदन भण्डारी भूमिगत राजनीतिक जीवनमा हुनुहुन्थ्यो ।  वि.स. २०५० साल जेठ ३ गते चितवनको दास ढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा जननेता मदन भण्डारीको दुःखद निधन भयो । यस घटनाले विशिष्ट ढङ्गले अघि बढेको नेपालको कम्युनिष्ट आन्दोलनमा ठुलो क्षति भयो भने राष्ट्रपति विद्यादेवी भण्डारीको निजी जीवनमा निकै ठुलो बज्रपात भयो । उहाँको दाम्पत्य जीवन केवल ११ वर्षमा नै समाप्त भयो । आफ्ना जीवनसाथीको अकल्पनीय अवसानसँगै कलिलो उमेरका सन्तान द्वय उषा किरण र निशा कुसुमको लालन–पालनको एकल जिम्मेवारी उहाँको काँधमा आयो । तर, उहाँ पारिवारिक दायित्वसँगै अदम्य साहसका साथ राजनीतिक जिम्मेवारीबाट पछि हट्नुभएन, निरन्तर अघि बढिरहनुभयो । 

लैङ्गिक विभेद, समानता तथा पहिचान, महिलामाथि विद्यमान हिंसा, महिला तथा किशोरीहरूमाथि एसिड आक्रमण, बालिका शिक्षा तथा जोखिममा रहेका महिलाहरूको संरक्षण, सामाजिक कुरीति—कुसंस्कारका विरुद्ध लैङ्गिक समानताका लागि कठोर सङ्घर्षको आवश्यकता उहाँका सामुन्ने रहेको सङ्घर्षको मैदान थियो । यस्ता विषयहरूलाई सुधार तथा परिणाममुखी निष्कर्षमा पुर्‍याउन सामाजिक अभियानसँगै राजनीतिक पहुँचमा हुनु अनिवार्य थियो । यस क्रममा उहाँ वि.स. २०५४ माघमा सम्पन्न नेकपा एमालेको छैटौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो । त्यहाँदेखि उहाँले निरन्तर पार्टीको नीति निर्माणको तहमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनुभयो । वि.स. २०५९ सालमा सम्पन्न जनकपुरमा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा पुनः निर्वाचित हुनुभयो । वि.स.२०६५ सालमा बुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशन र वि.स. २०७१ सालमा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनमा उहाँ पार्टीको केन्द्रीय उपाध्यक्ष निर्वाचित हुनुभयो । वि.स. २०५५ सालमा उहाँ अखिल नेपाल महिला सङ्घको अध्यक्षमा निर्वाचित हुनुभयो र तीन कार्यकाल अनेमसङ्घको अध्यक्ष रहनुभयो । 

संसदीय क्षेत्रमा पनि उहाँको छवि लोकप्रिय र सफल नेताको रूपमा रहेको छ । संसदीय क्षेत्रमा उहाँको प्रवेश वि.स. २०५० मा भएको हो । जननेता मदन भण्डारीको निधनपछि रिक्त पदका लागि गरिएको २०५० सालको उपनिर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट उहाँ पहिलो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । वि.स. २०५१ सालमा सम्पन्न मध्यावधि निर्वाचन र वि.स.२०५६ मा सम्पन्न आमनिर्वाचनमा सालको प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभयो । 

कतिपय मानिसहरू पद प्राप्त गर्नुलाई व्यक्तिगत उपलब्धिको विषय ठान्दछन् । तर, जनताप्रति समर्पितहरूका लागि यस्ता अवसरहरू जनताको जीवनमा, सामाजिक परिवर्तनमा, राष्ट्रिय हितका लागि भूमिका निर्वाह गर्ने जिम्मेवारी हुन्छन् । वि.स.२०६२/ ०६३ को आन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभामा राज्यका हरेक अङ्गमा न्यूनतम ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने विशेष प्रस्ताव विद्यादेवी भण्डारीले नै प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको प्रस्ताव प्रतिनिधि सभामा सर्वसम्मत पारित भएको थियो र सरकारलाई सो प्रस्ताव कार्यान्वयन गर्नका लागि विशेष निर्देशन दिइएको थियो । यस प्रस्ताव अनुरूपको विधेयक तयार गर्ने प्रक्रियामा समेत उहाँको अग्रणी भूमिका रहेको थियो । 

वि.स.२०७२ असोज ३ गते संविधानसभाबाट पारित भएको नेपालको संविधानले राजनीतिक प्रतिनिधित्व र सरकारी सेवामा महिलाको न्यूनतम ३३ प्रतिशत सुनिश्चितताका लागि विद्यादेवी भण्डारीको सङ्घर्ष, सुझबुझ, समन्वय र नेतृत्वको उच्च भूमिका रहेको छ । यो उपलब्धि राज्यमा महिला सहभागिताका दृष्टिले विश्वमा उदाहरणीय बनेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्राप्त गर्नुभएको राज्यको पहिलो कार्यकारी भूमिका वि.स.२०५४ सालमा वातावरण तथा जनसङ्ख्या मन्त्रीको जिम्मेवारी हो । यसपछि २०६६ सालमा उहाँ रक्षा मन्त्री हुनुभयो र पहिलो महिला रक्षा मन्त्री हुनुभयो । रक्षा मन्त्रीका हैसियतले नेपाली सेनामा पूर्व माओवादी–लडाकुहरूको समायोजन र राष्ट्रिय सुरक्षा नीतिको तर्जुमा गर्नुका साथै उहाँले अन्य महत्त्वपूर्ण जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । संविधानसभा सदस्यका रूपमा उहाँले संविधानसँग सम्बन्धित जटिल विवादहरूलाई निष्कर्षमा पुर्‍याउन र नेपालको संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो र राष्ट्रपति निर्वाचित हुनु अघिसम्म उहाँ नेकपा एमालेका उपाध्यक्ष, अखिल नेपाल महिला सङ्घका अध्यक्ष र व्यवस्थापिका–संसद् सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । 

यो सम्मान प्राप्त गर्नमा उहाँले महिला अधिकार तथा लैङ्गिक समानताको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु नै हो । यसमा राजनीतिक नेतृत्वमा महिलाको ३३ प्रतिशत सहभागिता सम्बन्धी निर्वाह गर्नुभएको भूमिका महत्त्वपूर्ण छ । सामाजिक न्याय, समानता, महिला नेतृत्व विकासका लागि उहाँ गर्नुभएका योगदान महत्त्वपूर्ण छ । शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक विकासमा समान अवसरको पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नु महत्त्वपूर्ण छ । राजनीतिमा महिला सहभागिताको माध्यमबाट लैङ्गिक न्याय, राजनीतिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका लागि आजीवन सङ्घर्ष महत्त्वपूर्ण छ । 

उहाँले मन्त्री रहनुहुँदा निर्वाह गर्नुभएको भूमिकाको कदर हो । उहाँ रक्षा मन्त्री रहनुभएको समयमा उहाँले व्यवस्था विरुद्धको युद्धमा सङ्गठित गरिएका विद्रोही सेनालाई  र राष्ट्रिय सेनामा सामेल गर्ने साहसिक तथा सुझबुझका लागि सम्मान हो ।  राष्ट्रिय सुरक्षा नीति तर्जुमा गर्ने कार्यका लागि सम्मान हो । सारमा सङ्घर्षपूर्ण जीवनका साथै प्राप्त सफलता तथा उत्प्रेरणाका लागि दिइएको सम्मान हो । संवैधानिक दृष्टिले सीमित कार्यकारी अधिकारको सीमामा देखिए पनि सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको राष्ट्रिय हितका पक्षमा रहने गरेका साहसिक कदम पनि यस सम्मानसँगै सम्मानित भएको छ । यो सम्मान गतिलो काम टाढाबाट पनि देखिन्छ भन्ने उदाहरण बनेको छ । 

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले विमेन पोलिटिकल लिडर्सबाट ‘ट्रेलब्लेजर अवार्ड’ प्राप्त गर्नु समन्यायिक अधिकारका क्षेत्रमा क्रियाशील सबैका लागि हर्ष र गौरवको विषय हो । 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ८ : ३४ बजे