मातातीर्थ सब स्टेसनको ट्रान्सफर्मरमा समस्या, विद्युत् आपूर्ति प्रभावित

काठमाडौँ । चन्द्रागिरि नगरपालिकास्थित १३२ केभी मातातीर्थ सब स्टेसनको पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएको छ ।

१३२/११ केभी सब स्टेसनमा रहेको २२.५ एमभिए क्षमताको पावर ट्रान्सफर्मरमा शनिवार दिउँसोबाट समस्या देखिएपछि मातातीर्थ क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । यसबाट करिब ५ हजार ग्राहककामा विद्युत् आपूर्ति समस्या देखिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले सब स्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि प्रयोग भएका मातातीर्थ र सतुंगल फिडरको लोडलाई क्रमशः थानकोट र बलम्बू फिडरमा सारेर वैकल्पिक रूपमा विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । तर, थानकोट र बलम्बू फिडरले त्यस क्षेत्रको मागलाई नधान्ने हुँदा आंशिक रूपमा विद्युत् आपूर्तिको व्यवस्था गरिएको छ ।

वैकल्पिक व्यवस्थाको रूपमा धादिङको कानाकोटबाट ‘ब्याक सप्लाई’ लिने र थानकोट फिडरको विस्तार गरी आइतबारबाट विद्युत् आपूर्तिको व्यवस्थापन गरिने छ । यसका लागि काम सुरु भइसकेको छ ।

प्राधिकरणले समस्या आएको ट्रान्सफर्मरलाई हटाएर भक्तपुर सब स्टेसनबाट ट्रान्सफर्मर लैजाने छ । यसका लागि केही दिन लाग्ने छ ।

प्राधिकरणले भक्तपुर सब स्टेसनमा रहेका २२.५ एमभिएका ३ वटा ट्रान्सफर्मरमध्ये २ वटालाई ४५–४५ एमभिएले प्रतिस्थापन गर्दै छ । त्यहाँ रहेका २२.५ एमभिएका दुई वटा ट्रान्सफर्मर मध्ये १ वटालाई मातातीर्थ सब स्टेसनमा लगेर जडान गरिने प्राधिकरणले जनाएको छ । 

 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ७ : ४० बजे