ठाकुर गैरेको सङ्कल्प : सत्यवतीलाई धार्मिक पर्यटन गन्तव्य बनाउँछु

बुटवल । नेकपा​​​​​​​ एमाले पोलिटब्यूरो सदस्य ठाकुर गैरले सत्यवती क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको नयाँ गन्तव्य बनाउने बताउनुभएको छ ए।

पाल्पा–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका पोलिटब्यूरो सदस्य गैरेले तिनाउ गाउँपालिका–४ सत्यवतीमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा सत्यवती क्षेत्र आफैमा पनि पर्यटकीय हिसाबले महत्त्वपूर्ण क्षेत्रको रूपमा रहेकोले यस क्षेत्रको प्रवर्द्धनका लागि आफूले पहल गर्ने बताउनुभयो । 

नेता गैरेसँगको भेटघाटका क्रममा मतदाताहरूले स्थानीय जाल्माघाट र गोलमन्दी घाटमा पक्की पुल बनाउनु पर्ने, यहाँको कृषि क्षेत्रको विकासका लागि खास योजना बनाउनुपर्ने लगायतका मागहरू राखेका थिए । 

मतदाताहरूसँगको छलफलका क्रममा उहाँले जनताको भावना र आवश्यकता अनुसार आफू सधैँ जनताकै सेवकको रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

पाल्पा क्षेत्र नं. २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार ओमबहादुर घर्ती पनि सोही क्षेत्रका मतदाताहरूसँग भेटघाटमा रहनुभएको छ। उहाँले आफू यसअघि तिनाउ गाउँपालिकाको अध्यक्षको रूपमा रही काम गरेको समयमा पनि यस क्षेत्रमा धेरै कामहरू भएको र आगामी दिनमा पनि थप कामहरू गर्ने प्रतिबद्धता जनाउनुभयो।

क्षेत्र नं.२ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराई तानसेन नगरपालिकाको वडा नं. २ र ६ का मतदाताहरूको घर घरमा घरदैलो कार्यक्रममा व्यस्त रहनुभयो । घरदैलो कार्यक्रममा उहाँले मतदाताहरूलाई विश्वस्त पार्दै ऐतिहासिक तानसेन सहरलाई पर्यटनको आकर्षणको रूपमा विकास गर्न, तानसेनको खानेपानीको उचित व्यवस्थापन, सडकको स्तरोन्नति साथै नगरका ग्रामीण बस्तीहरूमा कृषिको आधुनिकीकरणमा आफ्नो पहल रहने बताउनुभयो । 

घरदैलो कार्यक्रममा उम्मेदवार भट्टराईले तानसेन नगरपालिकाका जनताको आय स्तरमा वृद्धि गर्न र स्वरोजगार गराउन स्थानीय स्तरमा सञ्चालित ढाका करुवा उद्योगहरूलाई व्यवस्थित गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ११ : ५५ बजे