अमेरिकाबाट ल्याइएको १० किलो गाँजासहित दुई व्यक्ति पक्राउ

काठमाडौँ । अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइ छिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागु औषध गाँजा बरामद गरिएको प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार विमानस्थलमा उक्त पार्सल लिन आउने सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र उनीसँग गाँजा लिन आएका भारतको पूर्वी चम्पारनका २५ वर्षीय राजा कुमारलाई पनि पक्राउ गरिएको छ ।

यसरी १० किलोभन्दा माथि गाँजा उत्पादन, चोरी, पैठारी र ओसारपसार गरेमा दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि एक लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । उनीहरूलाई लागु औषध(नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ ।

यसैबीच ब्युरोले ग्रिन टीको नाममा नियन्त्रित लागु औषध खात कारोबार गर्ने दुई जनालाई पनि पक्राउ गरेको जनाएको छ । 

पक्राउ पर्नेमा धादिङका रामकुमार श्रेष्ठ र ललितपुरका कविराज खड्का रहेका छन् । उनीहरूको साथबाट चार सय ४० किलो खात, एउटा बोलेरो गाडी र डिजिटल तौल मेसिनसमेत बरामद गरिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १२ : ०६ बजे