देश बनाउनका लागि एमालेको सरकार : अध्यक्ष ओली

झापा  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आधुनिक नेपाल निर्माणको अगुवाइ गर्ने पार्टी एमाले मात्रै भएकाले मङ्सिर ४ को चुनावपछि एमालेको सरकार बन्ने बताउनुभएको छ ।  

नेकपा (एमाले) झापा निर्वाचन क्षेत्र नं ४ मा  बिहीबार आयोजित दुई चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मङ्सिर ४ पछि एमालेकै सरकार बन्नुपर्छ भनेर जनताले नै भनिरहेको बताउनुभयो । देशमा देख्न र देखाउन लायक सबै काम एमालेले गरेको उहाँले बताउनुभयो ।

ज्येष्ठ नागरिकलाई भत्ता सुरु गर्ने एमाले भएको बताउँदै उहाँले भन्नुभयो–“एमालेले सरकार गठन गर्नु अघिका कुनै सरकारले ज्येष्ठ नागरिकलाई सम्झिएनन्, एमालेले महिनाको एक सय रुपियाँबाट सम्झिएको ज्येष्ठ नागरिक भत्ता आज दिनको १३३ भन्दा बढी भएको छ, महिनाको चारहजार पुर्‍याइएको छ, अपाङ्गता भएकालाई पनि एमालेले भत्ता दिएको छ ।”

सडकमा पुगेका बालबालिका, असहाय मानिसको व्यवस्थापन, भिखमङ्गारहित देश बनाउने अभियान, दुर्गममा हेलिकोप्टर पठाएर गर्भवती र सुत्केरीको उद्धारको काम एमालेले गरेको स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयो– “तुइन विस्थापन, पेट्रोलियम पाइपलाइन, रेल सञ्चालनदेखि नेपाललाई सुरुङ मार्गको युगमा प्रवेश गराउने काम पनि एमालेले गरेको हो ।”

एमाले मात्रै एउटा कार्यक्रम लिएर देश बनाउने नीतिका साथ अगाडि बढेको बताउँदै अध्यक्ष ओलीले गठबन्धन दललाई निर्वाचनपछि कुन घोषणापत्र कार्यान्वयन गर्ने भनेर प्रश्न गर्नुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, “उनीहरु एउटा गठबन्धनमा त छन् तर, सबैको आ–आफ्ना घोषणापत्र छन् । चुनावपछि के गर्छौ भन्दा एउटाले एउटा कुराभन्दा अर्काले अर्को । गठबन्धन चाहिँ कायम राख्ने भन्छन् तर एउटा पूर्व जाने भन्छ अर्कोले पश्चिम । कुनै एउटा कार्यक्रम छैन ।”

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ८ : ५३ बजे