भियतनाममा डेङ्गुका बिरामी बढे

हनोइ । भियतनामको राजधानी हनोइमा डेँगुको ज्वरोका सङ्क्रमित दिन प्रतिदिन बढ्दै गएपछि उच्च सतर्कता अपनाइएको बताइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीले हनोइमा डेँगुको उच्च जोखिममा रहेको देखिएकाले यसका विरुद्धमा सतर्कता अपनाउनुपरेको बताएका हुन् ।

यहाँ केही समयमात्र अघिसम्म हप्तामा पाँचदेखि सात सयसम्म डेँगुका सङ्क्रमित देखिएकामा हाल हरेक हप्ता कम्तीमा पनि एक हजार चार सय जनामा सो सङ्क्रमण देखिएको हो ।

यहाँ डेँगुको ज्वरोका बिरामी हरेक हप्ता बढ्दै गएकाले हनोइ सहरमा उच्च सतर्कता अपनाउनुपरेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार यहाँ यस वर्षमात्र यहाँ दुई लाख ९२ हजार जनामा डेँगुको सङ्क्रमण भएको थियो । यस सङ्क्रमणबाट यहाँका कम्तीमा पनि एक सय १२ जनाको ज्यान गएको थियो ।

यहाँका स्वास्थ्य अधिकारीले भियतनामको हनोइ सहरमा यसका सङ्क्रमित बढ्दै जान थालेको र यो क्रम अहिले नै रोकिने अवस्था नदेखिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था आएको बताएका हुन् । 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ४ : ४४ बजे