वसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौँ ।  काठमाडौँको वसुन्धरामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–३ वसुन्धरा चक्रपथ क्षेत्रमा नारायण गोपाल चोकबाट वसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुई जनाको गए राति मृत्यु भएको हो । 

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना रानामगर रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । तीव्र गतिका कारण सवारी दुर्घटना भएको प्रवक्ता भट्टले बताउनुभयो । 

प्रहरीले ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ९ : २० बजे