राष्ट्रपतिद्वारा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्याण्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गर्नुभएको छ ।

विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुग्नुभएका राष्ट्रपति भण्डारीले मञ्चले प्रदान गरेको सो अवार्ड ग्रहण गर्नुभएको हो । 

उहाँलाई ‘वुमन पोलिटिकल लिडर्स्’(डब्लुपिएल)का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले अवार्ड प्रदान गर्नुभयो ।

राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधवार मध्याह्न महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यहाँ उहाँले महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो । 

१८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएका राष्ट्रपति भण्डारी मङ्गलवार आइसल्यान्ड पुग्नुभएको हो । 

उहाँ भ्रमण सम्पन्न गरी यही कात्तिक २६ गते बिहान स्वदेश फर्कनुहुने कार्यक्रम छ ।   

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : ३८ बजे