मोरङ ३ ‘क’ मा आज उम्मेदवारको मनोनयन दर्ता हुने

विराटनगर । मोरङ ३ प्रदेशसभा ‘क’ मा आज उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।

नेपाली काँग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधवार निधन भएपछि यो क्षेत्रमा आज फेरि उम्मेदवारको मनोनयन दर्ता गर्न लागिएको हो । 

मनोनयन दर्ता काङ्ग्रेसबाट मात्र हुनेछ । यसअघि मनोनयन दर्ता भएर चुनावी प्रचारमा रहेका उम्मेदवारहरूको उम्मेदवारी कायमै रहनेछ । 

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्य तालिका अनुसार आज बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची पनि आज अपराह्न ४ बजेभित्र प्रकाशित हुनेछ । उम्मेदवारको विरोधमा अपराह्न ४ बजेपछि ५ बजेसम्म सूचना दिन सकिनेछ ।

उम्मेदवारको नामावली शुक्रवार फिर्ता लिन पाइनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रवार अपराह्न ३ बजेसम्म हुनेछ। उम्मेदवारलाई कात्तिक २५ गते अपराह्न चिन्ह दिइने आयोगले जनाएको छ ।  

 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : २४ बजे