​​​​​​​दोलखामा मन्त्रीले नै बाँडे राहत सामग्री, स्पष्टीकरण सोध्ने अनुगमन समितिको तयारी

​​​​​​​दोलखा । दोलखामा गठबन्धनमा आबद्ध दलहरूले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको गम्भीर व्यापक रूपमा उल्लङ्घन गरेका छन् । 

आचारसंहिता विपरीत बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री तथा माओवादी नेता विशाल खड्काले स्वास्थ्य शिविर कार्यक्रममा सहभागी भई राहत सामग्री समेत वितरण गरी आचारसंहिताको धज्जी उडाउनुभएको छ। 

वन मन्त्री खड्काले जिरी नगरपालिका वडा नम्बर ८ राम्बोलेमा गत कार्तिक २० गते आयोजना गरिएको संस्कृति जर्गेनाका लागि धामी झाँक्री सम्मान कार्यक्रम र जिरी आपतकालिन राहत कोष वितरण र स्वास्थ्य शिविर कार्यक्रममा सहभागी भई गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरी राहत समेत वितरण  गर्नुभएको हो ।

साथै गठबन्धनका तर्फबाट जिल्लाका विभिन्न सार्वजनिक स्थलहरूमा ब्यानर राख्ने, गेट निर्माण गरी प्रचार सामग्री झुन्ड्याउने, पार्टीको लोगो भएको प्रचार सामाग्रीहरू वितरण, उम्मेदवारको फोटो अङ्कित लकेट वितरण गर्ने लगायतका कार्यहरू गरी निर्वाचन आचारसंहिताको व्यापक उल्लङ्घन गरेका छन् ।

यसैगरी, गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यका लागि दोलखा क बाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका कुन्दनराज काफ्लेले पनि आचारसंहिता उलङ्घन गर्नुभएको छ । काफ्लेले आफूसहित काँग्रेसको चुनाव चिन्ह अङ्कित लकेट वितरण गरी आचारसंहिता उल्लङ्घन गरिनुभएको हो । साथै उहाँले गेट निर्माण गर्ने र व्यापक रूपमा प्रचार सामग्री टाँस गर्ने कार्य समेत गर्नुभएको छ ।

नेकपा एमालेका कार्यवाहक उपाध्यक्ष राजेन्द्र मानन्धरले यस्तो गैर कानुनी कामका बारेमा आफूहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताउनुभयो । 

“निर्वाचन आचारसंहिताका विरुद्धमा हुने सबै किसिमका क्रियाकलापको एमाले घोर विरोध गर्दछ”,  मानन्धरले भन्नुभयो । गठबन्धनले यसअघि पनि जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आफ्नै पालिकामा जिम्मेवारी दिएर आचारसंहिता उल्लङ्घन गरेको थियो । यसमा आयोगले पत्राचार गरी आइन्दा यस्ता कार्यहरू नदोहोर्‍याउन चेतावनी दिएको थियो । 

दोलखाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवम् कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख मुरारी निरौलाले मन्त्री खड्का तथा उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरेको विषयमा उजुरी परेको र समितिमा छलफल भई स्पष्टीकरण सोध्ने तयारी भइरहेको जानकारी दिनुभयो । 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १० : ०१ बजे