भूकम्पमा परी ज्यान गएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ।  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गएकाप्रति दुःख व्यक्त गर्नुभएको छ । 

गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रबिन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाएका छ जनाप्रति उहाँले दुःख व्यक्त गर्नुभएको हो । 

प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । 

“सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्नुभएको छ । 

भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिनसमेत उहाँले निर्देशन दिनुभएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । 

 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ९ : ३५ बजे