भूकम्पका घाइतेको उपचार डोटीमा हुँदै

काठमाडौँ । गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ । 

घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि केही बेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्‍याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो । 

सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरूको उद्धार गरेको हो । उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ । 

गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पबाट डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । उक्त ठाउँमा आठ घर पूर्ण रूपमा भत्किएर क्षति पुगेको बताइएको छ । 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ९ : २४ बजे