सहकारी सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीले १५ दिनभित्र दायित्व बुझाउनुपर्ने

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन १५ दिने सूचना जारी गरेको छ । 

समितिले पटक पटक सम्पर्क, पत्राचार र राष्ट्रिय स्तरको पत्रपत्रिकामा सूचना प्रकाशन गर्दासमेत हालसम्म पनि संस्थालाई तिर्न बुझाउनुपर्ने ऋण र दायित्व बाँकी भएकाले १५ दिने सूचना सार्वजनिक गरिएको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले जानकारी दिनुभयो । 

१५ दिनभित्र तिर्नुपर्ने साँवा ब्याज नबुझाउने सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिने भएको छ । 

सरकारले समस्याग्रस्त घोषणा गरेका स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, स्ट्याण्डड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छन् । 

यसैगरी प्यासिफक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।

सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको व्यवस्थापन कार्यालयले नै गर्दै आएको जानकारी पनि समितिको सदस्य सचिवसमेत रहनुभएका कार्यालय प्रमुख पौडेलले दिनुभयो । 

समस्याग्रस्त सहकारीका धेरैजसो बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । बाँकीलाई पनि छिटो बचत फिर्ता गर्न कानुनबमोजिम कारबाहीको चरणमा प्रवेश गर्न बाध्य भएको उहाँले सुनाउनुभयो । रासस

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ९ : ११ बजे