प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ घाइते

काठमाडौँ । प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

पूर्णिमाको मेला हेरेर फर्किएको यात्रु बोकेको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।

लु१ज ३७०७ नम्बरको जिप प्युठान नगरपालिका– ५ पूर्णा गाउँ कुना पानीमा राती १२ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिनुभयो ।

दुर्घटनामा प्युठान नगरपालिका–५ बस्ने ५२ वर्षीया मैयाँ घर्ती, ४५ वर्षीय खुमान थापा र ४३ वर्षीया जुनकी थापाको घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । 

दुर्घटनामा घाइते भएका १२ जना मध्ये ६ जनाको जिल्ला अस्पताल उपचार भइरहेको र बाँकी छ जनालाई बुटवल पठाइएको प्रहरीले जनाएको छ । 

जिप अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो। 

जीप दुर्घटनाको कारण खुलेको छैन । जीपका चालक विनोद केएम फरार छन् । जीपमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : १४ बजे