एमाले दाङ क्षेत्र नं.२ को प्रतिबद्धता पत्र : पाँच वर्षका २३ प्रतिज्ञा र २३५ अठोट

दाङ । नेकपा (एमाले) दाङ निर्वाचन क्षेत्र नंं. २ ले आगामी पाँच वर्षका लागि २३ प्रतिज्ञा र २३५ अठोट सार्वजनिक गरेको छ ।

मङ्गलवार घोराहीमा प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रम आयोजना गरेर एमाले महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्य उम्मेदवार शङ्कर पोख्रेल, २ (१) प्रदेशसभा सदस्य उम्मेदवार बलिभद्र राना, २ (२) प्रदेशसभा सदस्य उम्मेदवार गिरिराज केसी, एमाले पोलिटव्यूरो सदस्य एवं दाङ इन्चार्ज नरुलाल चौधरी, एमाले पोलिटव्यूरो सदस्य सुजिता शाक्य,  केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सह इन्चार्ज जीवन गौतमलगायतले २३ प्रतिज्ञा र २३५ अठोट सार्वजनिक गर्नुभयो ।

२३ प्रतिज्ञामा समृद्ध दाङ–एमाले अभियान, भौतिक पूर्वाधार–दाङ समृद्धिको आधार, सहरीकरण तथा बस्ती विकास – समृद्धिको प्रमुख आधार, संस्कृति तथा पर्यटन–आर्थिक विकासको प्रवर्द्धन, दक्ष जनशक्ति र गुणस्तरीय शिक्षा, दङाली जनताको अपेक्षा, गुणस्तरीय स्वास्थ्य र खाना–निरोगी हुने जनताको चाहना, कृषि र पशुपालन– जीवनस्तर सुधारको माध्यम, औद्योगिक विकास, स्वाधीन अर्थतन्त्रको सर्वोत्तम निकास, विद्युत्, जलस्रोत, सिँचाइ र खानेपानी, स्वस्थ र समृद्ध जिन्दगानी उल्लेख छन् ।

यसैगरी, जडीबुटी, वन र वातावरण समुन्नत र दिगो पर्यावरण, भू–उपयोगको आधार कृषि र आवासको सुधार, उद्यमशीलता, श्रम र रोजगार जनताको अधिकार, युवा, खेलकुदको विकास, विदेश पलायनविरुद्धको निकास, ज्येष्ठ नागरिकको सम्मान, राष्ट्रको स्वाभिमान, दाङका महिला– विकासमा पहिला, बालबालिकाको अधिकार सबैको सरोकार, हेपिएकालाई मान दलित तथा जनजातिलाई सम्मान, अपाङ्गको विशेष क्षमता, विकासमा सहभागिता, भूमिहीन, सुकुम्वासीको अपेक्षा हात हातमा लालपुर्जा, सूचना र सञ्चार– समुन्नतिको आधार, भ्रष्टाचारमुक्त प्रशासन– जबाफदेहिता र सुशासन, हाम्रो पहिचान– कला, साहित्यको उन्नयन र विपद् व्यवस्थापन– सुरक्षित जीवन भन्ने प्रतिज्ञा एमाले उम्मेदवारहरूको छ । 

एमालेले समृद्ध दाङ एमालेको अभियानसहित लक्ष्य सार्वजनिक गरेको छ । त्यसका लागि भौतिक पूर्वाधारको विकास दाङको समृद्धिको आधार बनाइएको छ । 

पूर्वाधार निर्माणमा घोराहीदेखि रोल्पासम्मको सहिद मार्गको विस्तार गरी डोल्पासम्म जोड्ने, घोराही–प्युठान सडक कालोपत्रेलाई पूर्णता दिने, लमही–तुलसीपुर सडकलाई विस्तार गर्ने, चुनढुङ्गा खानीदेखि उद्योगसम्मको वैकल्पिक मार्ग निर्माण गर्ने, घोराही–होलेरी सहिद मार्ग, घोराही–बंगलाचुली र तुलसीपुर–सल्यान, रुकुम–राप्ती राजमार्गको स्तरोन्नति गर्ने, घोराही–सिमलतारा–हाँसीपुर–देउखुरीको बिपी राजमार्गअन्तर्गत सिमलतारादेखि बाँकी खण्डको निर्माण कार्य आगामी तीन वर्षमै सक्ने एमालेको अठोट छ ।

यसैगरी, सहरीकरण तथा बस्ती विकासलाई एमालेले समृद्ध दाङको आधारको रूपमा प्रस्तुत गरेको छ । बस्ती विकासको वैज्ञानिक मापदण्ड र मोडेल निर्माण गरी लागु गर्ने,  जिल्लाको एकीकृत विकासको गुरुयोजना तयार गरी आवासीय, औद्योगिक, व्यापारिक, कृषि तथा हरियाली क्षेत्र छुट्याई व्यवस्थित बस्ती विकास गर्ने, सवारी चाप हुने चोकहरूमा स्काई ब्रिज निर्माण गरिने, फोहोरलाई ऊर्जामा बदलेर ग्यास वितरण गर्ने, मुख्य बजारलाई आइटी शहर र ग्रामीण बजारहरूलाई मुख्य सहरहरूको स्याटलाइट सहरका रूपमा विकास गर्ने, मुख्य सहरलाई कलर कोडमार्फत बेग्लै पहिचान दिने अठोट एमालेले लिएको छ ।

यसैगरी, संस्कृति तथा पर्यटनलाई पनि दाङ समृद्ध बनाउने आधारका रूपमा एमालेले अघि सारेको छ । बंगलाचुलीलाई साहसिक पर्यटन क्षेत्रको रूपमा विकास गर्ने, थारु जातिको पहिचानलाई नेपालको पर्यटनको विकासमा जोडिनेलगायत छन् । यस्तै शैक्षिक विकास, प्राविधिक शिक्षा,  आयुर्वेद शिक्षालगायत सबैका लागि गुणस्तरीय शिक्षाको अठोट गरिएको छ । 

यसैगरी स्वास्थ्यतर्फ लमहीमा ट्रमा सेन्टरको यथाशीघ्र निर्माण, विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ सय शय्याको अस्पताल बनाई विएस्सी नर्सिङ र एमडीको पढाइ यथाशीघ्र सुरु गर्ने र प्रादेशिक आयुर्वेद अस्पताल विजौरीलाई पूर्वाधार थप गरी औषधि उत्पादन केन्द्रको रूपमा विकास गर्ने अठोट एमालेले लिएको छ ।

यसैगरी, कृषिमा यान्त्रिकीकरण गर्ने, सिँचाइ र समयमा मल, बीउ र किसानलाई प्रोत्साहन गर्ने अठोट एमालेले गरेको छ । त्यसका लागि स्मार्ट कृषि गाउँहरूको सङ्ख्या विस्तार गर्ने, व्यावसायिक कृषि तथा पशु फर्महरूलाई अनुदानको व्यवस्था गर्ने लगायतका दर्जनौँ कार्यक्रम अघि सारिएको छ । 

यसैगरी, वनको संरक्षण गरी काष्ठ तथा जडीबुटी, उत्पादन गर्ने  अठोट छ । भूमिहीन, सुकुम्वासीलाई लालपुर्जा दिने अठोट एमालेले लिएको छ भने उद्यमशीलता, श्रम र रोजगारको प्रवर्द्धन गर्ने, खेलकुद र खेल पूर्वाधारको विकास, ज्येष्ठ नागरिक सम्मान, ज्येष्ठ नागरिक र सामाजिक सुरक्षा भत्ता वृद्धि, दलित, जनजाति, अपाङ्गता भएका एवं पछाडि पारिएकाहरूको विकास, सीप र रोजगारी प्रवर्द्धन गर्ने अठोट एमालेले लिएको छ । 

एमालेले सुशासन, जवाफदेहीतालाई प्रवर्द्धन गर्दै भ्रष्टाचारमुक्त प्रशासन निर्माण गर्ने अठोट लिएको छ । 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ५० बजे