निर्वाचनपछि सत्ता गठबन्धन भत्किन्छ : टोपबहादुर रायमाझी

बुटवल । नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा टुक्रा भएर भत्किने बताउनुभएको छ  । 

सन्धिखर्कमा आज पत्रकारहरूसँग कुराकानी गर्दै नेता रायमाझीले शक्ति सन्तुलनमा समस्या भएर गठबन्धन विभाजन हुने बताउनुभयो । 

“एउटा पार्टीलाई मिलाउन त कति समस्या छ” उहाँले भन्नुभयो, “गठबन्धन पछि फुट्छ । गठबन्धन भित्रका दलहरू पनि विभाजन हुन्छ । देश ध्रुवीकरणमा जान्छ । त्यसपछि देश टु पार्टी सिस्टममा जान्छ ।” गठबन्धन मात्र नभई गठबन्धन भित्रका दलहरूमा पनि आन्तरिक विभाजन आउने उहाँले दाबी गर्नुभयो । 

उहाँले गठबन्धन अहिले एजेन्डाविहीन भएको भन्नुहुँदै गठबन्धनका कुनै एजेन्डा नरहेको दाबी गर्नुभयो ।

“काँग्रेस र कम्युनिष्ट छुट्याउन गाह्रो छ । अहिलेको गठबन्धन लेदो र खुदो मिसाए जस्तो छ । काँग्रेस ‘ककटेल’ जस्तो भएको छ”, उहाँले भन्नुभयो। 

सत्तामा बसेका दलले प्रतिपक्षलाई हराउन गठबन्धन विश्वमा कहीँ नहुने बताउँदै चुनावमा एमालेले बहुमत ल्याएर सरकार बनाउने उहाँको भनाइ छ ।

आफूले जिल्लामा समृद्ध अर्घाखाँचीको विकास गर्न ठुलो काम गरेको बताउँदै आफूले जिल्लामा १२ अर्बको विकास आयोजनाको काम गरेको बताउनुभयो।

 

 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १२ : ३५ बजे