सुर्खेतका २० मतदान स्थल अति संवेदनशील

सुर्खेत । सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २०  मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । 

जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका एक सय ३९ मतदान स्थल रहेका छन् । 

समितिका अनुसार ८६  संवेदनशील र ३३ कम संवेदनशील छन् । यसअनुसार निर्वाचन क्षेत्र नं १ मा कायम रहेका ७२ मतदान स्थल मध्ये नौ अति संवेदनशील, ६० वटा संवेदनशील र तीन कम संवेदनशील छन् । 

त्यस्तै निर्वाचन क्षेत्र नं २ मा ६७ मतदान स्थल मध्ये ११ अति संवेदनशील, २६ संवेदनशील र ३० कम संवेदनशील रहेको जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । 

सुरक्षा समितिले निर्वाचन क्षेत्र नं १ (क) मा सात वटा अति संवेदनशील, २४ संवेदनशील, ९ख० मा र दुई अति संवेदनशील, ३६संवेदनशील र तीन मतदान स्थललाई कम संवेदनशीलको सूचीमा राखेको छ । 

त्यसैगरी निर्वाचन क्षेत्र नं २ (१) मा सात अति संवेदनशील र संवेदनशील मतदान स्थल छैनन् भने कम संवेदनशील २४ मतदान स्थल रहेका छन् । त्यस्तै (२) मा ११ अति संवेदनशील, २६ संवेदनशील र छ मतदान स्थल कम संवेदनशील छन् । 

निर्वाचन सुरक्षा चुनौती कम गर्न मतदान स्थलको सुरक्षाका लागि आवश्यक काम भइसकेको र संवेदनशील, संवेदनशील र कम संवेदनशील मतदान स्थल वर्गीकरण गरेर तत्काल थप सुरक्षाकर्मी पुग्ने गरी रणनीति तयार गरिएको प्रजिअ रिजालले बताउनुभयो ।  

प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको जिल्लामा संवेदनशील रूपमा लिइएका मतदान स्थललाई नेपाल प्रहरीले अहिलेदेखि नै निगरानी गरिरहेको पनि प्रजिअ रिजालले जानकारी दिनुभएको छ ।  

मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत जिल्लामा प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी बलका डिएसपीको कमाण्डमा सशस्त्र प्रहरी परिचालन भइसकेको पनि प्रजिअ रिजालले जानकारी दिनुभयो ।

सुर्खेतको पूर्वसिम्ता गाउँपालिकादेखि पश्चिम चौकुने गाउँपालिकासम्मका सुरक्षा संवेदनशीलता मानिएका मतदान स्थलको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोली तयारी अवस्थामा राखिने जनाइएको छ ।

निर्वाचनमा खटिँदै दुई हजार ३४४ कर्मचारी
​​​​​​​निर्वाचन प्रयोजनका लागि सुर्खेतमा दुई हजार तीन सय ४४ जना कर्मचारी खटिने भएका छन् । 

कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी कुमार ज्ञवालीले आवश्यकताअनुसार थप कर्मचारी र स्वयंसेवक खटाउन सकिने पनि जानकारी दिनुभयो । 

सूचना अधिकारी ज्ञवालीका अनुसार पाँच सय मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुई सहायक कर्मचारी र प्रत्येक मतदान केन्द्रमा एक–एक कार्यालय सहयोगी खटिनेछन् । 

उहाँले मतदान स्थल र मतदान केन्द्रमा खटिनेमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी रहेको जानकारी दिनुभयो । प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा एक सय ३९ मतदान स्थल र दुई सय ९३ मतदान केन्द्र कायम गरिएको छ । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ मा ७२ मतदान स्थल र एक सय ४४ मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं २ मा ६७ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र कायम गरिएको छ । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ (१) मा ३१ मतदान स्थल र ६४ मतदान केन्द्र तोकिएको छ भने (२) मा ४१ मतदान स्थल र ८० मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं २ (१) मा २४ मतदान स्थल र ७३ मतदान केन्द्र तोकिएको छ भने (२) मा ४२ मतदान स्थल र ७६ मतदान केन्द्र कायम गरिएको कर्णाली प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी ज्ञवालीले जानकारी दिनुभयो ।रासस 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : २० बजे