पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

उक्त मौसमी प्रणालीको प्रभावले बदली हुनका साथै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
     
महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताउनुभयो । 

उहाँका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । राजधानी काठमाडौँमा बिहान बदली रहे पनि अहिले केही खुलेको छ । दिउँसो पुनः बदली रहनुका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आज हल्का बदली रहे पनि वर्षाको सम्भावना नरहेको मौसमविद् बासीले बताउनुभयो ।
     
हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

आज काठमाडौँको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : ४० बजे