प्रत्येक मतपत्रमा फरक फरक सेक्युरिटी कोड रहने र कसैले पनि मतपेटिका साट्न नसक्ने : प्रमुख आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रत्येक मतपत्रमा फरक फरक सेक्युरिटी कोड रहने बताउनुभएको छ।

ललितपुर स्थित होटेल हिमालयमा टङ्कप्रसाद स्मृति प्रतिष्ठान र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को संयुक्त आयोजनामा भएको "निर्वाचन आयोग-नागरिक संवाद" विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै आयुक्त थपलियाले प्रत्येक मतपत्रमा फरक फरक सेक्युरिटी कोड रहने र कसैले पनि मतपेटिका साट्न सक्ने कुनै सम्भावना नरहेको र यसमा आशङ्का समेत नगर्न बताउनुभएको हो।

​​​​​​​आयुक्त थपलियाले अरुलाई गालीगलौज वा अरुको चरित्र हत्या नगरी आफ्ना राम्रा कुरा गरेर निर्वाचन प्रचारप्रसार गर्न दलका नेता र उम्मेदवारलाई पुनः आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “मैले त भन्दै आएको छु । १५ मिनेट आफू गतिलो छु भन्न १३ मिनेट अरुलाई गाली गर्ने र चरित्र हत्या गर्ने साहित्य कहाँ पढेर आउनुभयो नेताज्यू ?” उहाँले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर मत माग्ने र मत दिने वातावरण सिर्जना गर्न पनि आग्रह गर्नुभयो ।

आयुक्त थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मत खस्ने बताउनुभयो। उहाँले चुनावमा मतपेटिका कसरी साटिन्छ भन्ने कुरा कहिले बुझ्न नसकेको बताउनुभयो । कार्यक्रममा विभिन्न प्रश्नहरूको जवाफ दिँदै आयुक्त थपलियाले मङ्सिर चार निर्वाचनको दिन रहेको र नेपाल बन्दको दिन नरहेको बताउनुभयो । उहाँले आयोगले उजुरी नपरी कसैको पनि उम्मेदवारी खारेज नगरेको बताउनुभयो । निर्वाचनमा मतदाता शिक्षाको निम्ति आयोगले स्वयंसेविका पठाइसकेको बताउँदै सिद्धान्त फेरी फेरी चार वटा मतपत्रमा मत हाल्नुस् भनेर सिकाउन नसक्ने समेत बताउनुभयो ।

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त डा भोजराज पोखरेल, पूर्वनिर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, संविधानविद् नीलाम्बर आचार्य, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतसँग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहितरुपमा सम्पन्न गराउने सन्दर्भमा नागरिक संवाद गरिएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १० : १० बजे