एमाले प्रदेश नं १ ले गर्‍यो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक 

मोरङ । नेकपा (एमाले) प्रदेश नं १ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । 

पार्टी स्थायी कमिटी सदस्य गुरु बराल, प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह लगायतले संयुक्त रूपमा प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभयो । 

प्रतिबद्धतामा २६ वटा एजेन्डा समावेश गरिएको छ । एमालेको तीन वर्ष छ महिनामा सरकार सञ्चालनको अवधिमा गरेको मुख्य÷मुख्य कामको उपलब्धि समावेश गरिएको छ ।

प्रदेशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, जनप्रशासनलाई व्यापक सुधार गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ । 

यसै गरी जनप्रतिनिधिले शासक होइन जनताको सेवकको रूपमा कार्य गर्ने, प्रदेशमा कृषिको व्यवसायीकरण, कृषि यान्त्रीकरण, मल खाद, सिँचाइ, उद्योगको स्थापना, पर्यटन क्षेत्रमा पूर्वाधारको निर्माण गरी जनताको जीवनस्तर सुधार्ने उल्लेख गरिएको छ । प्रदेशको अवस्था र मौलिकतामा आधारित गरेर प्रतिबद्धता सार्वजनिक गरिएको छ । 

प्रतिबद्धता पत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउने र मुलुकको समृद्धिमा योगदान गर्नेलगायत विषय प्राथमिकतामा राखिएको छ । प्रतिबद्धता पत्रमा प्रदेशलाई मुलुकको प्रवेशद्वार रूपमा विकास गर्ने कुरा समावेश गरिएको छ । 

यसै गरी विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने, एसियन हाइवेमार्फत भारत, बङ्गलादेश, भुटान, चीन, बर्मासँग जोड्ने, हवाई सेवाबाट हङकङ र थाइल्यान्डसँग जोड्ने, किमाथाङ्का–जोगबनी सडक खुलेपछि सामान र मानव आवागमनको क्षेत्र बन्ने सम्भावनाको अधिकतम उपयोग गर्ने कुरा प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । 

गरिबीलाई सम्बोधन गर्न विपन्न वर्ग परिचयपत्र वितरण गर्ने, एमालेको सरकारले सुरु गरेका प्रदेश गौरवको आयोजना पूरा गर्नेलगायत विषय प्रतिबद्धता पत्रमा समेटिएको छ । 

सङ्घीय राजधानीसँग जोड्ने छोटो जलमार्ग र सडक मात्र खोल्ने, हिमालको उपयोग, छोटो ट्र्याकबाट हिमाल लैजाने, हिमाल चढ्नेका लागि तालिम दिने, माउन्टेनियरिङ इन्स्टिच्युट बनाउने, युवा वर्ग र युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने तथा रोजगारी सिर्जना गरिने कार्य योजना प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । रासस

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : १० बजे