यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड राष्ट्रपति भण्डारीलाई

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउनुहुने भएको छ । 

दक्षिण एसियाली मुलुक नेपालमा राष्ट्रपतिजस्तो उच्च पदमा आसीन रहेर नेपाल र विश्वकै महिलाको गरिमा बढाएको ठहर गर्दै राष्ट्रपति भण्डारीलाई सो सम्मान प्रदान गरिन लागिएको हो ।

प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान महिला राष्ट्रपति, पूर्व महिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीहरूलाई हरेक वर्ष प्रदान गरिन्छ । 

आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुन गइरहेको रेक्जाभिक ग्लोबल फोरम–वुमन लिडर्स विषयक सम्मेलनमा राष्ट्रपति भण्डारीलाई यो सम्मान प्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आइसल्यान्ड सरकार र संसद्मा सामेल महिला राजनीतिक नेत्रीहरूले सन् २०१८ देखि यस मञ्चको सुरुवात गरेका हुन् ।

अवार्ड ग्रहण गर्नका लागि राष्ट्रपति भण्डारी सोमबार अर्थात् भोलि आइसल्यान्ड प्रस्थान गर्नुहुने कार्यसूची रहेको मन्त्रालयले जनाएको छ  ।

मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले अवार्डको सम्मान ग्रहणसँगै नेपालमा महिला नेतृत्वको वर्तमान स्थितिका बारेमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । 

मङ्गलवारदेखि बिहीबारसम्म आयोजना हुने सम्मेलनमा सहभागी भएपछि राष्ट्रपति भण्डारी शनिवार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।   

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : २० बजे