समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेको सरकार आवश्यक : सूर्य थापा

प्युठान । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा प्युठानमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य थापाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमालेका उम्मेदवारले जित्नै पर्ने बताउनुभएको छ । 

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका सन्दर्भमा प्युठानमा नेकपा (एमाले)का उम्मेदवारहरूको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुहुँदै नेता थापाले देशको आर्थिक र पूर्वाधार विकासको क्षेत्रमा नीति, कार्यक्रम र योजना निर्माणको लागि प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको प्रभावकारी पहलकदमी रहने बताउनुभयो । 

उहाँले आफूहरू निर्वाचित भएमा प्युठानको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकासको नेतृत्व लिने प्रतिबद्धता जनाउनुभयो।

पर्याप्त सम्भावना रहेको प्युठान, एमालेको नेतृत्वमा सुरुवात गरिएका केही विकास निर्माणका योजनाबाहेक यसअघि जिल्लामा विकासको काम हुन नसकेको जनाउँदै उहाँले  जिल्लाको समग्र विकासका लागि प्रदेश तथा सङ्घीय सरकारमा पहुँच अभिवृद्धि गरी तीव्र विकासको थालनी गरिने बताउनुभयो ।

प्रतिबद्धता पत्रमा विकास निर्माणका विभिन्न कामहरू प्राथमिकताका साथ गर्ने कुरामा जोड दिइएको छ । रणनीतिक महत्त्वका सडकहरू निर्माणको काम सम्पन्न गरी प्युठानलाई छिमेकी जिल्लाहरू तथा राजमार्गसँग जोडिने छ । अर्घाखाँची सन्धिखर्क–गोखुङ्गा–मर्कावाङ–खरिवोट–तिराम–दाङ (मदन भण्डारी राजमार्ग), सिमलटारी–पुर्कोटदह–सौतामारे–मच्छी–स्वर्गद्वारी–रोल्पा (मदन भण्डारी राजमार्ग), अर्घाखाँची–जोगिटारी–चुँजाठाँटी–खलङ्गा–बिजुवार–दाखाक्वाडी–बर्जिवाङ–भिंग्री–स्वर्गद्वारी–रोल्पा (६७ किमी), (जीवराज आश्रित कृष्ण सेन इच्छुक मार्ग) खण्डको निर्माण कार्य द्रुतगतिमा अघि बढाई सम्पन्न गरिने छ ।  

बाग्दुला–ठूलावेसी–भिमगिठे, वाहाने–वालीपुङ–मुलघाट–स्याउलीवाङ–ढोरपाटन सडक निर्माणलाई प्राथमिकता दिने, भालुवाङ्ग–प्युठान सडकलाई स्तरोन्नति गरी दुई लेनमा विस्तार गर्ने,  अर्खा–रजवारा जोड्ने गरी जिल्लाकै सबभन्दा लामो झोलुङ्गे (४११ मिटर) पुल (अध्ययन भइसकेको) निर्माण गरी गौमुखीमा पर्यटकीय आकर्षण अभिवृद्धि गर्ने कुरालाई प्राथमिकता दिइएको छ । 

त्यस्तै, हालसम्म केन्द्रीय प्रसारण लाइनबाट विद्युत्को पहुँच बाहिर रहेका स्याउलीबाङ, काफलबुटा, काइया, एकराते, रुझिम, र्कुिर्तवाङ, स्याउले, खबाङ, रजवारा, अर्खा, पूजा, लिवाङलगायतका बस्तीमा विद्युत् बिस्तार गरी सबै घरधुरीसम्म विद्युत्को सहज पहुँच स्थापित गरिने छ । निर्माणाधीन सवस्टेशन व्यवस्थित रूपमा सञ्चालन गरी सुरक्षित र नियमित विद्युत् आपूर्ति सुनिश्चित गरिने छ । 

प्रसिद्ध धार्मिक स्थल एवं तपोभूमि स्वर्गद्वारीको व्यवस्थित र योजनाबद्ध भौतिक पूर्वाधार विकास गरी रोजगारी, स्वरोजगार र पर्याप्त आम्दानी गर्न सकिने आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उहाँको प्रतिबद्धता पत्रमा चर्चा गरिएको छ । पर्यटकीय गन्तव्यहरू गौमुखी, मल्लरानी, ऐरावती लगायतका क्षेत्रमा पूर्वाधार विकासमा विशेष जोड दिइएको छ ।

त्यस्तै, स्वर्गद्वारी–गौमुखी पर्यटन पदमार्गलाई पूर्णता दिने नेता थापाले बताउनुभयो । मल्लरानी, झुलेनी–लिस्ने भन्ज्याङ र जसपुर–बड्डाँडा–हंसपुरमा हिलस्टेशन पर्यटन पूर्वाधार विकास गरिने छ ।  साहसिक पर्यटन, जल पर्यटन, प्याराग्लाइडिङ लगायतका पर्यटनका सम्भावनाको खोजी गरी थालनी गरिने कुरा प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । 

एमाले नेतृत्वको सरकारले सुरु गरेको ‘एक घर, एक धारा’ को कार्यक्रम कार्यान्वयन गर्ने, लिफ्ट खानेपानीको विद्युत् महशुलमा छुट गर्ने, निर्माणाधीन योजना सम्पन्न गर्ने तथा पुराना योजना पुनर्निर्माण र नयाँ योजनाको विस्तृत अध्ययनपछि कार्यान्वयन गर्ने कुरामा प्रतिबद्धता जनाइएको छ । 

प्युठान अस्पताललाई पूर्वाधारयुक्त बनाउँदै विशेषज्ञसहितको गुणस्तरीय सेवा उपलब्ध हुने अस्पतालको रूपमा विकास गरिने छ । 

त्यस्तै, एमाले नेतृत्वको सरकारले सुरु गरेको जिल्लाका सबै स्थानीय तहमा निर्माणाधीन १५ शय्याका अस्पतालहरूको निर्माण पूरा गरी सेवा सञ्चालन गरिने छ ।

नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको अध्ययन, लगतकट्टा र मुआब्जाको कार्य प्रक्रिया अगाडि बढिरहेकाले निर्माण कार्य सुरु गर्नमा जोड दिइने छ । स्वर्गद्वारी विमानस्थल चाल्नेटारको जग्गा अधिग्रहणमा देखिएको समस्याका कारण अघि बढ्न नसकेकाले आवश्यक बजेट व्यवस्था गरी निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ ।  

त्यस्तै, जिल्लाभित्र प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता पत्रमा राखिएको छ । देशभित्र र देशबाहिर आवश्यक दक्ष एवं सीपयुक्त जनशक्ति तयार गरिने, जिल्लाका सबै शैक्षिक संस्थामा अङ्ग्रेजी माध्यम र  कम्प्युटर शिक्षा, इन्टरनेट जडानसहित व्यवस्थित भौतिक पूर्वाधार, स्वच्छ शैक्षिक वातावरण र गुणस्तरीय शिक्षा विकासका लागि आवश्यक व्यवस्था मिलाइने छ । 

जिल्लाको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई व्यावसायिक बनाउन विशेष पहल गर्ने उहाँको प्रतिबद्धता छ । साथै, कृषिजन्य उपजमा जिल्लालाई आत्मनिर्भर बनाई निर्यात गर्ने वातावरण बनाउन अगुवाइ गर्ने उहाँले बताउनुभयो । पशुपालनलाई व्यावसायिकरण गरी आयातलाई प्रतिस्थापना गर्नमा जोड दिइने छ ।  

जिल्लाका पर्यटकीय गन्तव्यहरू बंगलाचुली, झुलेनी, मल्लरानी, झाँक्री स्थान, चिल्ड्रेन पार्क भिंग्री, भू–बनोट–सारी, सहिद स्मृति पार्क, लिस्ने भन्ज्याङ, दहियाल्ना, गढी दरबार, किमिचौर दह, सिद्धलेख, कोटवराह दह, कोठीभिर, तामाखानी, झाँक्रीढुङ्गा, रानीवन दह–रजवारा, पालुकाथान–चुँजाठाँटी लगायतका क्षेत्रहरूको योजनाबद्ध पूर्वाधार विकास एवं प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाइएको छ ।  

त्यस्तै, जिल्लामा अवस्थित ऐतिहासिक तथा धार्मिक कोटहरु उदयपुरकोट, भित्रीकोट, ओखरकोट, बिजुलीकोट, बरौंलाकोट, इस्नाकोट, तुसाराकोट, बेलवासकोट, सारीकोट, हंसपुर खड्कदेवी कोटघर लगायतका कोटको पूर्वाधार विकास गरी अध्ययन स्थल एवं धार्मिक गन्तव्यका रूपमा प्रवर्द्धन गरिने छ ।  

झिमरुक र माडी करिडोर अन्तर्गतका क्षेत्रहरू समेटी बस्ती विकासको योजना बनाएर ती क्षेत्रमा आधुनिक एवम् व्यवस्थित बस्ती विकास गर्ने प्रतिबद्धता छ । प्रदेश राजधानी राप्ती उपत्यकासँग जोडिएको बाङ्गेसाल क्षेत्रलाई बृहत् राजधानी क्षेत्रको गुरुयोजनामा समावेश गरी सहरी विकासमा जोड दिइने छ ।

सबै स्थानीय तहका केन्द्रसम्म पुग्ने पहुँच मार्गलाई कालोपत्रे गर्ने, जिल्लाका ६४ वटै वडाको केन्द्र पुग्ने गरी सडकको स्तर वृद्धि गरी बाह्रै महिना सुचारु हुने व्यवस्थित सडकका रूपमा विकास गरिने छ । 

कुटिचौर–खरिवोट–दहखोला–लेक–अग्लावाज–पोखरी–लाकुरीबगर–गर्तङफेदी–बाँदीकोट–तुसारा–हिडडाँडा–दोमै निर्माण गर्ने र सौतामारे चक्रपथ निर्माण गर्ने प्रतिबद्धता छ ।  

त्यस्तै, जिल्लाभित्रका माडी, झिमरुक, लुङखोला, अरङ्गखोला, गर्तङखोला, दरभान र गनाहा खोला लगायतका साना–ठुला नदी कटानलाई बजेट व्यवस्था गरी सुरक्षित गरिने प्रतिबद्धता छ । जिल्लामा अधिकतम क्षमताको व्यवस्थित र बहुउद्देश्यीय सभागृह निर्माण गर्ने, मुख्य व्यापारिक केन्द्र बाग्दुला र विजुवारको ढल निकास सहितको भित्री बाटो पक्की बनाउने प्रतिबद्धता छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमलाई निरन्तरता दिँदै खरको छाना विस्थापित गर्ने अभियानलाई पूर्णता दिइने छ । एमाले नेतृत्वको सरकार बनेमा लैङ्गिक हिंसा, घरेलु हिंसा र असमानताविरुद्ध तथा बाल अधिकार संरक्षणको जिल्ला स्तरीय रणनीति बनाई कार्यान्वयन गरिने जनाइएको छ । ज्येष्ठ नागरिक आवास तथा मिलन केन्द्र, वैकल्पिक हेरचाह केन्द्र, संरक्षक तथा अभिभावकविहीन बालबालिका, सडक व्यक्तिलगायत सहाराविहीन व्यक्तिहरूका लागि जिल्ला स्तरमा संरक्षण केन्द्र स्थापना गरिने छ ।   

प्युठानमा प्रतिनिधिसभा सदस्यमा नेता थापा र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र(२)मा केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज हरिप्रसाद रिजाल, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र (१) मा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तुल्सीराम शर्मा उम्मेदवार रहनुभएको छ । उहाँहरू संयुक्त रूपमा प्रतिबद्धता पत्रमार्फत सहयोगको अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : ४६ बजे