‘नेशनल डे कन्सर्ट’ सम्पन्न

चुनाव चर्चा : स्वास्थ, शिक्षा, संस्कृति, सहकारी र रोजगारी प्राथमिकता : ओम बहादुर घर्ती मगर

पाल्पा । पाल्पाको निर्वाचन क्षेत्र नं. २(२) का उम्मेदवार ओम बहादुर घर्ती मगर  शिक्षित युवा राजनीतिकर्मी हुनुहुन्छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य रहनुभएका उहाँ यसअघि त्यसै क्षेत्र अन्तर्गत रहेको तिनाउ गाउँपालिकाका अध्यक्ष हुनुहुन्थ्यो ।  

२०२५ साल मङ्सिर १८ गते पाल्पा जिल्लाको तत्कालीन फेक डेढु गाउँ पञ्चायत हाल तिनाउ गाउँपालिका वडा नं.–१ कचलको अत्यन्तै विकट स्थान ओखलढुङ्गामा पिता भद्रबहादुर र माता लिलाकुमारीका कान्छा सन्तानका रूपमा जन्मनुभएका ओमबहादुर घर्तिमगर अत्यन्तै दुःख, कष्ट सहेर एसएलसी पास गरेपछि जिल्ला सदरमुकाम तानसेन आएर शिक्षक भई अध्यापनसँगै अध्ययन गरेर स्नातकोत्तर गर्नुभएको छ । २४—२५ वर्षको उमेरमा २०४९ मा नेकपा एमालेमा जोडिनुभएका ओमबहादुर २०५० सालमा पार्टीको संगठित सदस्य हुनुभएको हो । 

ओमबहादुर घर्तिमगरसँग अध्यापन, पार्टी काम र सफल जनप्रतिनिधिको अनुभव छ । उहाँ तत्कालीन क्षेत्र विभाजन अनुसार पाल्पा जिल्लाको १३ नंबर इलाका कमिटीको सचिव, जिल्ला कमिटीको वैकल्पिक सदस्य, जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, जिल्ला सचिव हुँदै हाल प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । 

जनप्रतिनिधिको रूपमा २०५४ सालमा साविक कचल गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भई कचल गाविसलाई नमुना गाविसका रूपमा विकास गर्न सफल हुनुभएको थियो । २०७४ सालमा तिनाउ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भई कुशलतापूर्वक कार्यसम्पन्न गरेका उहाँ तिनाउ गाउँपालिकाका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

२०७९ मङ्सिर ४ हुने प्रदेशसभाको निर्वाचनमा पाल्पा क्षेत्र नं २ (२) को प्रदेशसभा उम्मेदवारका रूपमा क. ओमबहादुर घर्तिमगरलाई नेकपा एमालेले अगाडि सारेको छ । 

प्रायः सबै उम्मेदवारहरूलाई गरिने प्रश्न ‘तपार्इँका प्राथमिकता के हुन् ?’

एउटा राजनीतिकर्मीका हिसाबले मेरा धेरै दायित्व छन् र त्यसैभित्र मेरा प्रतिबद्धता पनि छन् । यस हिसाबले अहिले मैले स्वास्थ, शिक्षा, सहकारी र रोजगारी प्राथमिकतामा राखेको छु । 

यतिमा सीमित भएर दायित्व पूरा होला त ?
—    हुँदैन, यतिले मात्र पुग्दैन । यी त प्राथमिकता भित्रको पनि प्राथमिक विषय हुन् । तर, यी हामीले ध्यान दिनैपर्ने विषय हुन् । जेसुकै गर्नका लागि पनि मानिसको सरिर स्वस्थ हुनुप¥यो । प्रभावकारी स्वास्थ्य सेवा सञ्चालनका लागि यस क्षेत्रका स्वास्थ्य संस्थाको स्तरोन्नति गर्दै स्वास्थ्य विमाको प्रभावकारी कार्यान्वयन गर्ने, एक वार्ड, एक खेल मैदान निर्माणका लागि पहल गर्नेछु । अपाङ्गता, अशक्त, असहायहरूको हकहितका निम्ति प्रभावकारी कार्याक्रम सञ्चालन गर्ने प्रतिबद्धता छ । शिक्षा सबै प्रकारको विकासका लागि अनिवार्य छ । शिक्षाको गुणस्तर सुधारका निम्ति प्रभावकारी नीतिसहित स्कुल सुधार कार्यक्रम सञ्चालन गरी मानव मूल्यमा आधारित शिक्षामा जोड दिनेछु ।  प्रभावकारी सहकारी नीति निर्माण गरि हरेकलाई सहकारी अभियानमा जोडिनेछ । गाउँमा आर्थिक गर्जो टार्ने, सामाजिक नेतृत्व विकास गर्ने, मेलजोल बढाउने, एकका लागि सबै र सबैका लागि प्रत्येकको सहयोग, सद्भाव, सहकार्य र यसका माध्यमबाट समृद्धि र सुख ल्याउनमा सहयोग हुन्छ । अर्को विषय भनेको रोजगारी हो । रोजगारीको अभावमा युवाहरूले ठाउँ छोड्दै गएका छन्, देशै छोडिरहेका छन् । यसरी सक्षम युवाहरूले देशै छोड्ने अवस्था हुन नदिन उचित रोजगारी त हुनै पर्दछ । हाम्रो सन्दर्भमा संस्कृति भनेको पर्यटनसँग जोडिएको विषय हो । यो विषयको सम्बन्ध नैतिकता, सद्भाव, स्वच्छता आदिसँग पनि जोडिएको छ । त्यसैले स्वास्थ्य, शिक्षा, संस्कृति, सहकारी र रोजगारी बहुआयामिक विषय हुन् र मेरो प्राथमिकतामा छन् । 

अरुले त भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेछन् त ! तपाईंका त्यस्ता योजना छैनन् ? 
—    किन नहुनु । केपी शर्मा ओली नेतृत्वको सरकारले अगाडि बढाएका डुम्रे कुसुमखोला, मैनादी–सर्देवा, सातमुरे लुछा मोटरबाटो निर्माणको काम यथाशीघ्र सम्पन्न गर्न पहल गर्ने, शङ्कर पोखरेल नेतृत्वको सरकारले अघि बढाएका हार्थोक, बतासे, छहरा सुगुरेढुंगा, जुठापौवा, बल्ढेङगढी सत्यवतीहुँदै सालझण्डी जोड्ने मोटरबाटो स्तरोन्नति गर्दै सुगुरढुंगा–सालझण्डी कालोपत्रे गर्ने कार्य यथाशीघ्र सम्पन्न गर्ने, हार्थोक–सिलाङ्गी रानीठाँटीहुँदै डुम्रे मोटरबाटो स्तरोन्नति गर्ने । अमलावास, चोरबोट, डेढु, कचल, रानीवगिया, गोलौशा सबै क्षेत्रको तराइ जोडने दूतमार्गको रूपमा यो बाटोलाई विकास गर्ने, दोभान–कचल, जुठापौवा बल्ढेङगढी, सत्यवतीलाई जोडने कृषिमार्गको निर्माण कार्य अविलम्व अगाडि बढाउने विषय त प्रतिबद्धतापत्र मार्फत नै सार्वजनिक गरिसकको छु । 

​​​​​​​पूर्वाधार निर्माणका क्षेत्रमा तपाईँका अन्य प्रतिबद्धता के के हुन् ?
—    जुठापौवा, चहला, काउले, गहते, लौधापानी, रामापुर मोटरबाटो स्तरोन्नति गर्ने । मेहलढाप, ग्वारठाना, चहला, मेहलढाप, वेतेनी, चहला र काफलबुटा, अमिले, वेतेनी, चहला सडकको नयाँ ट््रयाक बनाई यातायात सुचारु गर्ने । केवरेछेडा, बुढीदमार, सुकादमार चिदीपानी लौधापानी ठूली उदाङ, भिंगामारा रानी बगिया मोटरबाटो स्तरोन्नति गर्ने । अमलावास भुवनपोखरी, अर्घाखाँची, अमलावास, तान्सिंगल, सोमादी मनभाग लगायतका मोटरबाटो स्तरोन्नति गर्ने, डुम्रे मस्याम ठिमुरे बतासे मोटरबाटोको स्तरोन्नति गर्ने, देउराली ख्याहा मोटरबाटो कालोपत्रे गर्ने, झुम्सा–सत्यवतीताल, सत्यवतीहुँदै गोठादी मोटर बाटो स्तरोन्नति गर्ने सोचाइ र योजना छ । यी काम पूरा गर्न गराउन प्रतिबद्ध छु । 

पाल्पा जिल्ला यसै पनि महत्वपूर्ण जिल्ला हो । तपाई चुनवामा अघि सर्नुभएको यो क्षेत्र धार्मिक—सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । यस विषयमा ?

—    हो । धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको विकासमा मेरो ध्यान छ । सांस्कृतिक क्षेत्र हाम्रो विकासको मौलिक र विशिष्ठ आधार हो । यसका लागि मैले भैरवस्थानको गुरुयोजना बमोजिमको निर्माण कार्यलाई अगाडि बढाउने, बल्ढेङगढी, सल्लेधारा शिवालय, रैनादेवी, मच्छेन्द्रादेवी, अर्चलेधाम, ख्याहा छत्रका थान, भैरवस्थान, रिब्दीकोट, जलेश्वर, मुझुङ कालिकास्थान, तिलकथानलाइ जोडेर धार्मिक तथा ऐतिहासिक गन्तव्यसहितको पदमार्गको निर्माण गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छु । सत्यवतीताल, सुकेताल, भयरपानी (घर्तिपानी मेहलढाप) का धार्मिक मेलाहरूको प्रवर्द्धन गरि पर्यटन विकासमा टेवा दिने, नुवाकोट गढीदेखि बल्ढेङगढी पदमार्गको कार्यान्वयन गर्ने हो । 

अरु केही खास कुरा छ कि ? 

—    छ नि । निर्वाचनमा जनताको हरेक समस्यासँग जुधिरहने प्रतिबद्धताकासाथ निम्नकार्य गर्ने अपिल गर्दछु १. प्रदेशसभाले विगतमा निर्माण गरेका ऐन कानूनलाई समयानुकूल संशोधन तथा जनपक्षीय बनाइने छ भने आवश्यक कानुन निर्माणमा पूर्ण रूपमा लागि पर्ने विषय छ । लुम्बिनी प्रदेशलाई नमूना प्रदेशको रूपमा अगाडि बढाउन समृद्ध प्रदेश खुसी प्रदेशबासीको सपना साकार पार्ने नीति, योजना तथा कार्यक्रम ल्याउन क्रियाशील रहने विषय छ । 

तपार्ईंले रोजगारीलाई मुख्य प्राथमिकतामा राख्नुभएको रहेछ । के कस्ता योजना सोच्नुभएको छ त ? 
—    रोजगारीका क्षेत्र धेरै छन् । स्वास्थ्य, संस्कृति, सहकारी, शिक्षा आदि यी सबैमा रोजगारीका विषय छन् । यो प्रदेशमा तरकारी खेती, कफी खेती, अदुवा बेसार खेती, व्यवसायिक फूल खेती, फलफूल खेती तथा विभिन्न अन्नबाली, मसलाबालीहरूको बीउ पकेट क्षेत्र तथा उत्पादन पकेट क्षेत्रको रूपमा विकास गर्नुपर्छ । मासु उत्पादन दूध उत्पादनमा यो क्षेत्रलाइ पकेटको रूपमा विकास गरी निर्यातमुखी उत्पादनमा सहयोग गर्नुपर्ने छ । मौरी पालन, माछापालन र च्याउखेती जस्ता नगदे व्यवसायमा किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने छ । उत्पादनमा युवा, महिलाहरूलाई संलग्न गराई उद्यमी क्षेत्रको रूपमा विकसित गर्नुपर्ने छ । स्वच्छ खानेपानी उपलब्धताका लागि एक घर, एक धारा अभियान लागू गरिनेछ । 

एउटा विश्वासप्राप्त जनप्रतिनिधिका हैसियतमा यी सबै विषयमा मेरो ध्यान पुग्ने छ । जनताको काम, उहाँहरूका समस्या हाम्रो घोषणापत्र र प्रतिबद्धता हेरेर आउने होइन । त्यसैले मैले गरेका प्रतिबद्धता पनि यहाँको हालको अवस्था, विगतका कामको अनुभवका आधारमा हो । बाँकी त जनता नै जनार्दन हुनुहुन्छ । जनताको सेवकका नाताले परिआएका जस्तोसुकै काममा साथसहयोगप्रति प्रतिबद्ध रहने हो, रहेको थिएँ र रहिरहनेछु । 

चुनाव जित्नुहुन्छ त ?

​​​​​​​—    यसअघि पनि गाविस हुँदा र गाउँपालिका भएपछि यहाँका जनताको पनि मायाँ र विश्वास पाएकै हुँ । त्यो विश्वास केही गरेर नै आर्जन गरेको हुँला । अहिले पनि घर घरमा पुगेको छु । जनताका विचार सुनेको छु, अझ थप काम गर्ने उत्साह पाएको छु । त्यसैले यो चुनावमा पनि त्यस्तै सद्भाव, मायाँ र मत पाउनेमा ढुक्क छु । 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  २ : २७ बजे