आनन्द पोखरेल र पार्वत गुरुङको एउटै स्वर : राज्य शक्तिको दुरुपयोगबाट चुनाव जित्ने सपना नदेखे हुन्छ

दोलखा । नेकपा एमालेका पोलिटव्युरो सदस्य द्वय आनन्द प्रसाद पोखरेल र पार्वत गुरुङले दोलखामा राज्य शक्तिको दुरुपयोग गरेर चुनाव जित्छु भन्ने सपना नदेख्न पाँच दलीय गठबन्धनलाई चेतावनी दिनुभएको छ । 

पार्टीको प्रचार अभियान सुरु गर्न सदरमुकाम चरिकोटमा शुक्रवार  आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँहरूले गठबन्धन दल राज्य शक्तिको दुरुपयोग गरी बुथ कब्जा गरेर चुनाव जित्ने मनोविज्ञानमा रहेको बताउँदै एमालेले त्यस्तो हुन नदिने बताउनुभएको हो । 

एमालेले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै उहाँहरूले दोलखामा गठबन्धनमा शक्तिको प्रयोग केही–केही हुन थालेकाले उनीहरू निगरानी गर्ने पनि बताउनुभएको छ । 

“जनताको मताधिकारको दुरुपयोग हुन नदिन सबै राजनीतिक दलले प्रतिबद्धता गर्नु जरुरी छ”, पूर्व मन्त्री तथा पोलिटव्युरो सदस्य पोखरेलले भन्नुभयो, “यो निर्वाचन धाँधलीरहित बनाउन सुरक्षा निकाय र स्थानीय प्रशासनले निष्पक्ष भूमिका खेली मतदान गर्ने वातावरण तयार गर्नुपर्छ ।” तर, अहिले त्यस्तो अवस्था नदेखिएको सङ्केत गर्नुहुँदै उहाँले जिम्मेवार निकाय र व्यक्तिहरूले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न एमाले प्रतिबद्ध रहेको उहाँको भनाइ छ । 

एमाले समाजका सबै वर्गको हित र समृद्धि चाहने पार्टी भएको बताउनुहुँदै पूर्व मन्त्री पोखरेलले एमाले किसान र मजदुरलगायत सबैको सहारा समेत भएको बताउनुभयो । उहाँले एमालेलाई बहुमत पुर्‍याउन दोलखाबाट प्रतिनिधि र सङ्घमा एमालेकै उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभयो । 

पोलिटव्युरो सदस्य पार्वत गुरुङले गठबन्धन राज्यको नियम र विधि उल्लङ्घन गर्ने पार्टी भएको बताउनुभयो । 

उहाँले आजदेखि नेकपा एमाले विधिवत् ढङ्गबाट प्रचारप्रसार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

“गठबन्धनले बुथ कब्जा गरेर चुनाव जित्छु भनेर जनतामा प्रचार गरेर भ्रम पैदा गरेको छ । म तपाईँहरूलाई भन्न चाहन्छु– अब नेकपा एमाले दोलखाले यही चुनावबाट त्यो बुथ कब्जाको दुष्प्रयास अन्त्य गर्ने सार्वजनिक घोषणा गर्दछु” उहाँले भन्नुभयो, “यति हुँदाहुँदै पनि बलजफती कसैले जनताको स्वविवेक अपहरण गरेर बुथ कब्जा गर्ने हिम्मत गर्छ भने त्यस्ता आपराधिक व्यक्ति जनताको बीचमा हुन्छ कि हुँदैन म खुला चुनौती दिन चाहन्छु ।”

“दोलखामा गठबन्धनले चुनाव जित्ने मनोविज्ञान पालेर बसेको छ, तर उहाँहरूको त्यो सपना पूरा हुन एमालेले दिनेछैन”, पूर्व मन्त्री समेत रहनुभएका गुरुङले भन्नुभयो, “दोलखाको प्रमुख शक्ति अहिले पनि एमाले हो र भविष्यमा पनि एमाले नै हुनेछ । विभिन्न शक्तिको प्रयोगबाट चुनाव जित्ने सपना केवल सपनामै सीमित पारिने छ ।”

 उहाँले मङ्सिर ४ गते हुने मतदानमा ढुक्कसाथ सहभागी हुन मतदाताहरूलाई आग्रह गर्नुभयो ।

उहाँले विपक्षी पार्टीले प्रतिनिधिसभा सदस्य बालकृष्ण शिवाकोटीमाथि लगाएको सम्पूर्ण आरोप नियतवश लगाएकाले त्यसमा कुनै सत्यता नभएको स्पष्ट पार्नुभयो ।

एमाले दोलखाबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ बालकृष्ण शिबाकोटी तथा प्रदेश सभा (क) बाट नरबहादुर श्रेष्ठ र प्रदेश सभा (ख) बाट भरतबहादुर केसी उम्मेदवार हुनुहुन्छ । 

 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १० : १६ बजे