मतदाता शिक्षाका लागि कैलालीमा नमुना मतदान

कैलाली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको तयारीका क्रममा कैलालीको सुख्खडमा नमुना मतदान गरिएको छ । 

उक्त मतदानमा शत प्रतिशत मत सदर भएको छ । कैलालीको निर्वाचन क्षेत्र नं. ३ को सुख्खड स्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमुना मतदानमा ४२ मत खसेकोमा सबै मत सदर भएको थियो । 

प्रदेश निर्वाचन कार्यालय, धनगढीको पहलमा भएको नमुना मतदानमा नगरपालिकाका प्रमुख खडक रावत र उपप्रमुख गुलियादेवी चौधरीलगायत गाउँघरमा खटिइरहने स्वास्थ्य स्वयंसेविका, पालिकाका कर्मचारीलगायत सहभागी हुनुभएको थियो । 

सो अवसरमा नगर प्रमुख रावतले नमुना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत सङ्ख्या घट्ने बताउनुभयो ।

निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उद्देश्यले नमुना मतदान गरिएको बताउनुभयो । उहाँले निर्वाचनमा मतदान गर्ने तरिका लगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।

यसअघि कैलालीको निर्वाचन क्षेत्र नं। ४ को गोदावरी नगरपालिका क्षेत्रमा पनि नमुना मतदान कार्य सम्पन्न भएको थियो । जिल्लाका अन्य पालिकामा पनि नमुना मतदानको तयारी गरिएको छ ।

यसबाहेक यही कात्तिक १८गतेबाट कैलाली जिल्लाका सबै निर्वाचन क्षेत्रका वडा र टोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न एक सय २६ महिला स्वयंसेवी परिचालन गर्न लागिएको छ । स्थानीय पालिकाहरूबाट निर्वाचन सम्बन्धी आवश्यक तालिम लिएका महिला स्वयंसेवीलाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गर्न लागिएको हो । 

निर्वाचन कार्यालयले स्थानीय तहको एक जना अधिकृत तहको कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति (अनुगमन अधिकृत)को रूपमा खटाउन लागेको छ ।

 

 

 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ११ : ३३ बजे