राष्ट्रपति भण्डारी आज मुस्ताङ जानुहुँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज मुस्ताङ भ्रमणमा जानुहुने भएको छ । 

राष्ट्रपति भण्डारीले मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति आज बिहान ८ बजे मुक्तिनाथ आइपुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । 

“मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति आज नै फर्कनुहुन्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रपतिबाट मुक्तिनाथको रानी पौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन हुने जनाइएको छ ।

राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको प्रजिअ शर्माले बताउनुभयो । 

राष्ट्रपति भण्डारीले गत वर्ष कात्तिकमा पनि मुक्तिनाथमा पूजाआजा तथा यस क्षेत्रको भ्रमण गर्नुभएको थियो । 

 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ८ : १७ बजे