एमालेले चुनावी सभा आज दार्चुलाबाट सुरु गर्दै, चुच्चे नक्सा चुनावी एजेण्डा

काठमाडौँ । नेकपा (एमाले)ले चुनावी आमसभा आजबाट सुदूरपश्चिमका दार्चुलाबाट सुरु गर्ने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दै हुनुहुन्छ । अध्यक्ष ओली बिहीबार नै धनगढी पुगिसक्नुभएको छ ।

एमालेले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने धेयका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो । 

अध्यक्ष ओली नेतृत्वको सरकारले अढाई वर्षअघि लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको भूगोल समेटेर नक्सा जारी गरेको थियो ।

अध्यक्ष ओलीले आज बिहान ११ः०० बजे दार्चुला सदरमुकाम खलङ्गामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दै छ । ती चुनावी सभालाई पनि अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।

एमाले प्रचार विभाग प्रमुख खड्क बडालका अनुसार दार्चुलाबाट सुरु हुने चुनावी अभियान पूर्वमा पुगेर टुङ्गिनेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : ३१ बजे