‘एउटै नाउरको सिकार गर्न २३ लाख’

गठबन्धनमा धोकाको आंशकाः मैदानमा बागी र विद्रोहीको सामना

फेरी पनि प्रधानमन्त्री हुने कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको लोभको जगमा टेकेर यो गठबन्धन टिकेको हो । उता, गठबन्धनका अर्का खेलाडी प्रचण्डको पनि बाध्यताले यो गठबन्धन अडिएको हो । एक्लै निर्वाचन लड्ने प्रचण्डसँग हुती नभएकै कारण उनी काँग्रेससँग जोडिन पुगेका हुन् । एक्लै निर्वाचन लड्दा पार्टी नै हराउने मनोवैज्ञानिक भयका कारण उनी देउवाको शरणमा पुगेका हुन्। देउवा वा प्रचण्ड यी दुवै नेता पार्टीगत मात्रै होइन, आफ्नो व्यक्तिगत स्वार्थका कारण एक –अर्कोमा गाभिएका हुन् । निर्वाचनपछि प्रधानमन्त्री बन्ने महत्त्वाकाङ्क्षाको मनोगत रसाइनले मात्रै यी दुई विपरीत सिद्धान्त बोकेका नेता जोडिएका हुन । एउटा पूर्व लाग्दा अर्को पश्चिम लाग्ने राजनीतिक सिद्धान्त बोकेका यी दुई नेताको गठ जोड नै स्वार्थको हो । राजनीतिको होइन । विचार ,सिद्धान्त विपरीत यी दुई नेताको गठ जोड नेता हेरेर होइन, नीति र सिद्धान्त हरेर पार्टी लागेका अरू कार्यकर्ता –नेताहरूले किन मान्नु पर्छ रु हिजो कुनै दिन टाउकाको मूल्य तोक्ने र तोकिनेबीचको यो गठ जोड आफै पनि अपत्यारिलो छ ।

उनीहरूको यो जोड घटाउमा पार्टीगत स्वार्थ कम व्यक्तिगत स्वार्थ बढी हाबी भएको छ । निर्वाचनपछि प्रधानमन्त्री हुने दुवैको महत्त्वाकाङ्क्षाले यी जोडिएका हुन् । आफू फेरी पनि प्रधानमन्त्री हुने सपना यी दुवैले देखेका कारण आ–आफ्नै पार्टीका नेता–कार्यकर्ताहरूको भविष्यमाथि करौति चलाएका छन् ।आफू भने लगातार निर्वाचनमा उठिरहनु पर्ने अरू नेता –कार्यकर्ताहरूलाई भने गठबन्धनको डन्डा लगाएर रोक्ने ,छेक्ने ? यो कहाँको र कस्तो लोकतान्त्रिक संस्कार हो ? गठबन्धनका नाममा आफ्ना पार्टीका नेता–कार्यकर्ताहरूमाथि सिन्डिकेट लागू गर्ने परिपाटीको विकासले पार्टीको सङ्गठनलाई कहाँ प¥याउँछ रु निर्वाचनको परिणामपछि सरकार निर्माणका लागि गठबन्धन गर्नु स्वाभाविक हो । त्यो लोकतान्त्रिक परिपाटी पनि हो ।

तर, निर्वाचनमा जानु अघि नै झन्डै आधा दर्जन दलहरू बीच मोर्चा बन्दी गरेर जाने परिपाटीको विकासले लोकतन्त्रलाई नै विकृत पार्दैन बरु गठबन्धन गरेर निर्वाचनमा जाँदा पार्टी सङ्गठनलाई घाटा होस कि नाफा, न त देउवालाई मतलब छ त्यसको न त प्रचण्डलाई नै । आ–आफ्नो स्वार्थ केन्द्रित राजनीतिलाई बढवा दिएकै कारण माओवादी केन्द्र र कांग्रेसका आम कार्यकर्ता पङ्क्तिमा असन्तुष्टि छाएको हो । सोही असन्तुष्टि बागी र विद्रोहीको रूप लिएर निर्वाचनको मैदानमा प्रकट भएको छ । हामी उनीहरूका गुलाम होइनौ, भन्दै बागी र विद्रोहीका रूपमा निर्वाचनमा उठेको त्यो पङ्क्तिले नेताहरूलाई पक्कै पनि सबक सिकाउने छ ।

देउवालाई उनी प्रधानमन्त्री हुने बाहेक अरू केही कुराको मतलब छैन । पुनः उनी प्रधानमन्त्री हुने लालसाकै कारण उनले कांग्रेसको मान –प्रतिष्ठालाई अलिकति पनि ख्याल गरेको देखिँदैन। देशकै सबै भन्दा पहिलो र ठुलो पार्टी कांग्रेस थियो । कांग्रेसीहरु आफूलाई मुलुकै ठुलो पार्टी भनेर केही साल वा वर्ष अघि सम्म गर्व गर्ने गर्थे । कांग्रेस लोकतन्त्रको पहरेदार हो भन्दै गीत गाउँथे । कांग्रेस सधैँ लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न लड्ने पार्टी हो भन्दै कांग्रेसीहरु बहसमा उत्रिन्थे । तर, आज देउवाले कांग्रेसका ती सबै गहनालाई आफ्नो नितान्त व्यक्तिगत स्वार्थका लागि बेचेर कांग्रेसीजनहरुको सिङ्गो शरीर नै गहनाविहीन बुच्चो बनाइदिएका छन् । कांग्रेस प्रतिपक्ष एमालेसँग निर्वाचन लड्न भीड एकीकृत गरेर चुनावी मैदानमा ओर्लिएको छ । देउवाको यो क्रियाकलापले निष्ठावान् कांग्रेसको पक्कै पनि शिर निहुराएको छ । कांग्रेस हिजो आफ्नो राजनीतिक निष्ठा र सिद्धान्त बोकेर निर्वाचनमा एक्लै लड्दै आएको थियो । तर, आज उसलाई निर्वाचनमा जान सहारा चाहिएको छ, त्यो पनि एउटाको मात्रै होइन,एक भन्दा धेरै दलको । कांग्रेसका केही नेताहरूलाई मन्त्री वा प्रधानमन्त्री बनाउने लोभमा देउवाले सिङ्गो कांग्रेस पार्टीलाई ओरालो यात्रामा जोडले दौडाएका छन् । एक थान नेताहरूले फेरी पनि निर्वाचनपछि मन्त्री पाउनु नै कांग्रेसका लागि समग्र जितको विषय हो भने अरू भन्नु केही छैन ।

देउवाले जे –जे भन्छन्,त्यही त्यहीमा सडक किनारमा बसेर ताली ठोक्नेहरूको पङ्क्तिलाई चिरेर केही कांग्रेसीहरु भने आफ्नो पहिचान खोज्न मैदानमा ओर्लिएका छन् । उनीहरूले अप्राकृतिक र अपवित्र गठबन्धनको विरोध गर्दै निर्वाचनमा खडा भएका छन् । देशका कतिपय ठाउँमा उनीहरूले गठबन्धनको विरोधमा आफ्नो तर्फबाट उम्मेदवारी दिएका छन् । गठबन्धनले कांग्रेसलाई कमजोर बनाउने र देशका कतिपय जिल्लामा आफ्नो पार्टीको चुनाव चिन्हमा मत समेत हाल्न नपाउने भएकाले गठबन्धनको खिलाफमा उत्रिनु परेको कांग्रेसका बागी उम्मेदवारहरूले बताउँदै आएका छन् । गठबन्धनमा आबद्ध अन्य दलको तुलनामा पनि कांग्रेसका बागी निर्वाचनको मैदानमा धेरै छन् । प्रतिनिधिसभा निर्वाचनमा मात्रै माओवादी विरुद्ध १० निर्वाचन क्षेत्रमा कांग्रेसका नेता कार्यकर्ताले बागी उम्मेदवारी दिएका छन् । कांग्रेस नेता कार्यकर्ताले गठबन्धनको तेस्रो ठुलो दल नेकपा एकीकृत समाजवादीको भागमा परेको ७ निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  २ : ५५ बजे