एयरलाइन्स टिकेटिङ्ग, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन

काठमाडौं ।  पर्यटन व्यवसाय विकास र विस्तारका लागि आवश्यक सिपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले देशको सात वटै प्रदेशलाई लक्षित गरी एयरलाइन्स टिकेटिङ्ग, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन गरिरहेको छ । सबै कार्यक्रमको संयोजन नाट्टा सचिव तथा तालिम संयोजक  युविका भण्डारीले गरिरहनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन र नेपाल उद्योग वाणिज्य महासङ्घको सहयोगमा जम्मा ३० जना प्रशिक्षार्थीका लागि १ महिने कार्यस्थलमा आधारित तालिम कार्यक्रमको शुभारम्भ कार्तिक १६ गते नाट्टा अध्यक्ष रमेश थापाले काठमाडौँमा गर्नुभयो । 

ती प्रशिक्षार्र्थीहरुलाई ८ दिनको सैद्धान्तिक ज्ञान र स्थलगत अध्ययन पछि पर्यटन व्यवसाय सञ्चालन भइरहेको कम्पनीहरूमा व्यवहारिक सीप आर्जनका लागि पठाइने छ ।

त्यसै गरी संयुक्त राष्ट्र सङ्घ विकाश कार्यक्रमको सहयोगमा नेपाल पर्यटन बोर्डको जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना अन्तर्गत काठमाडौँ, बुटवल, पोखरा, नेपालगन्ज, वीरगन्ज र विराटनगर गरी जम्मा ६ वटा स्थानमा आयोजना हुने गरी तालिम कार्यक्रमहरू सुरु भएको छ । यी सबै स्थानमा ६०/६० जना को लागि अवसर उपलब्ध हुने र जम्मा २४० जना प्रशिक्षार्थीले ५ दिने तालिम लिनेछन् । 

 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १ : ४० बजे