दोलखामा काँग्रेसका गाउँपालिका सचिव ओली र वडा सभापति शेर्पासहित सबै पदाधिकारी एमालेमा प्रवेश  

दोलखा । नेकपा माओवादी केन्द्रलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएपछि दोलखामा काँग्रेस छोड्ने क्रम बढेर गएको छ । 

काँग्रेस प्रचण्डपथमा हिँडेको भन्दै जिल्लाका अधिकांश लोकतन्त्रवादी नेता तथा कार्यकर्ताहरू धमाधम नेकपा एमालेमा प्रवेश गर्न थालेका छन् ।

यही क्रममा आज नेपाली काँग्रेस गौरीशङ्कर गाउँपालिका कमिटीका सचिव अर्जुन ओली नेकपा एमालेमा प्रवेश गर्नुभएको छ भने गौरीशङ्कर–७ साबिक मार्बु गाविसको सिँगै कमिटी एमालेमा समाहित भएको छ । 

त्यस वडाका काँग्रेस सभापति फुरलाक्पा शेर्पाले बैठक गरेरै सम्पूर्ण कमिटी एमालेमा समाहित गराउनुभएको हो । 

यससँगै मार्बुमा नेपाली काँग्रेसका सबै कार्यकर्ता एमालेमा समाहित भएका छन् । 

गठबन्धनका उम्मेदवार मार्बु पुगेको दोस्रो दिन नै काँग्रेसको बैठकले कमिटी नै नेकपा एमालेमा समाहित हुने निर्णय गरेको शेर्पाले बताउनुभयो ।

बुधवार सदरमुकाम चरिकोटमा बैठक बसेर वडाका सबै पदाधिकारी तथा सदस्यहरू एमालेमा समाहित हुने निर्णय लिएपछि आज उनीहरु एमाले प्रवेश गरेका हुन  । 

गौरीशङ्करमा लामो समयदेखि नेपाली काँग्रेस निर्माणमा लाग्नुभएका सचिव अर्जुन ओली र वडा नं ७ का सभापति शेर्पासहित सबै पदाधिकारी एमालेमा प्रवेश गरेसँगै सो क्षेत्रमा काँग्रेस लगभग शून्यमा पुगेको छ ।

काँग्रेस छाडेर एमालेमा समाहित भएका नेता कार्यकर्तालाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङ, जिल्ला इन्चार्ज केन्द्रीय सदस्य सरस्वती बस्नेत, केन्द्रीय सदस्य रचना खडका, प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटी, जिल्ला अध्यक्ष तथा प्रदेशसभा ‘क’का उम्मेदवार नरबहादुर श्रेष्ठसहितका नेताहरूले पार्टीमा स्वागत गर्नुभएको छ ।

एमालेमा समाहित भएका नेताहरूले अब गौरीशङ्कर मात्रै नभएर आफूहरूले जिल्लाभर काँग्रेसका सबै इमानदार तथा प्रभावशाली नेता कार्यकर्ता एमालेमा भित्र्याएर समृद्ध दोलखा निर्माणको अभियानलाई सफल पार्ने अठोट गरेका छन् ।

​​​​​​​

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ११ : ३५ बजे